Logo

समाचार

रास्वपाले रौतहट घटनालाई गम्भीरतापूर्वक लियो



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहटमा चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ।

शुक्रबार (माघ २३) जारी विज्ञप्तिमा रास्वपाले उक्त घटनाले पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै मृतक बालिकाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ र शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा घटनाको छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, कानुनी प्रक्रिया पूरा गरी पीडित परिवारलाई न्याय दिलाउन पार्टीले आवश्यक सबै पहल गर्ने जनाएको छ।

पार्टीले पीडित परिवारलाई राहत र सहयोग उपलब्ध गराउन पहल भइरहेको जानकारी दिएको छ। साथै, आगामी दिनमा चुनावी अभियानका क्रममा प्रयोग हुने सवारीसाधनको परिचालनमा उच्च सतर्कता अपनाउन पार्टीका नेता, कार्यकर्ता, उम्मेदवार तथा चालकहरूलाई कडा निर्देशन जारी गरिएको छ।

घटना बिहीबार (माघ २२) दिउँसो रौतहटको ईशनाथ नगरपालिका–४, मठिया टोलमा भएको हो। रास्वपाका तर्फबाट रौतहट क्षेत्र नम्बर–२ का उम्मेदवार सगिर आलमको प्रचारप्रसारमा प्रयोग गरिएको बा १५ च ४२४४ नम्बरको कारको ठक्करबाट चार वर्षीया अलसा खातुनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १ : १२ बजे