काठमाडौं । निर्देशक दिनेश राउतको प्रतीक्षित चलचित्र ‘कुमारी’ यही माघ २३ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ ।
प्रदर्शनको पूर्व सन्ध्यामा निर्देशक राउतले देशभरका थिएटर टेक्निसियन तथा प्रोजेक्स्निष्टहरूलाई पत्राचार गर्दै चलचित्रको ध्वनि गुणस्तरका बारेमा प्राविधिक जानकारी गराएका छन् ।
चलचित्र ‘कुमारी’ लाई अत्याधुनिक इमर्सिभ फम्र्याटमा साउन्ड मिक्सिङ गरिएको छ । दर्शकहरूले उच्च प्रविधि जडित हलहरूमा पूर्ण सिनेम्याटिक अनुभव लिन सकुन् भन्ने उद्देश्यले चलचित्रको साउन्ड डिजाइन गरिएको निर्माण पक्षले जनाएको छ ।
निर्देशक राउतका अनुसार चलचित्रको साउन्ड मिक्सिङ र मास्टरिङ साउन्ड प्रोसेसर फेडर युनिट ५.५ मा गरिएको छ । ध्वनिको ‘डाइनामिक्स’ सुरक्षित राख्न र दर्शकलाई वास्तविक ध्वनिको महसुस गराउन यो स्तर कायम गरिएको हो ।
निर्माण टोलीले सिनेमा हलहरूमा प्रदर्शन पूर्व नै ५.५ फेडर युनिटमा ट्रायल शो सम्पन्न गरिसकेको जनाएको छ । चलचित्रको प्रभावकारी प्रस्तुतिमा कमी नआओस् भन्नका लागि हलहरूलाई ५.५ भन्दा कम भोल्युम युनिटमा चलचित्र प्रदर्शन नगर्न अनुरोध गरिएको निर्देशक राउतले बताए ।
उच्च प्राविधिक मापदण्डमा तयार पारिएको ’कुमारी’ले नेपाली चलचित्रको प्राविधिक स्तरलाई नयाँ उचाइ दिने विश्वास गरिएको छ । यो फिल्ममा अबिशेक खड्का र आकृति राजभन्डारीको प्रमुख अभिनय रहेको छ भने महेन्द्र अधिकारी निर्माता छन् ।










प्रतिक्रिया