Logo

Breaking News 1

आगामी निर्वाचनमा रसुवाबाट पार्टीका उम्मेदवारलाई जिताउनु न्यायसंगत हुन्छ : कुलमान घिसिङ



काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले रसुवासँग आफ्नो गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा रसुवाबाट पार्टीका उम्मेदवारलाई जिताउनु न्यायसंगत हुने बताएका छन् ।

शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले रसुवा र रामेछाप आफ्नो जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका जिल्ला भएको बताए । उनले रामेछापलाई जन्मथलो र रसुवालाई कर्मथलोका रूपमा व्याख्या गर्दै रसुवाले नै आफूलाई ‘कुलमान घिसिङ’ भनेर चिनाएको स्पष्ट पारे ।

‘रसुवासँग मेरो धेरै कुरा जोडिएको छ । कुलमान घिसिङको पार्टी उज्यालो नेपाल पार्टीका उम्मेदवारलाई रसुवामा जिताउनु भएन भने त्यो न्याय हुँदैन,’ उनले भने, ‘रामेछाप मेरो जन्मथलो हो भने रसुवा मेरो कर्मथलो हो । म आज जहाँ छु, त्यसको आधार रसुवाले नै तयार पारेको हो ।’

अध्यक्ष घिसिङले रसुवाका धेरै जनप्रतिनिधिहरू उज्यालो नेपाल पार्टीमा प्रवेश गरेकोप्रति खुशी व्यक्त गर्दै पार्टीप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरे । उनले रसुवा जिल्ला आफूलाई लामो समयदेखि आत्मीय रूपमा जोडिएको जिल्ला भएको पनि बताए ।

कार्यक्रममा उनले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुखको भूमिकामा चार वर्ष काम गर्दा थुप्रै उपलब्धि हासिल भएको उल्लेख गरे । सो अवधिमा विभिन्न जलविद्युत् परियोजनाको सुरुवात र सम्पन्न गरिएको बताउँदै स्थानीय जनतालाई १० प्रतिशत सेयर दिनुपर्ने व्यवस्था नेपालमै पहिलो पटक कानुनी रूपमा सुनिश्चित गरिएको दाबी गरे ।

उनले भने, ‘रसुवा जिल्ला म सँग धेरै समयदेखि र आत्मिय रुपमा जोडिएको जिल्ला हो । रसुवाको चिलिमे जलविद्युत् आयोजनामा प्रबन्ध निर्देशक तथा कार्यकारी प्रमुखको भूमिकामा चार वर्षमा धेरै काम गरे । धेरै हाइड्रो पावर प्रोजेक्टहरुको सुरुवात गरे, सम्पन्न गरे । त्यहाँको जनतालाई १० प्रतिशत सेयर दिनुपर्छ भनेर नेपालमा पहिलो चोटी कानुन बनाएको पनि हामीले नै हो ।’

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ७ : ३० बजे