Logo

समाचार

यातायात व्यवस्था कार्यालय चाबहिलमा अख्तियारको छापा : प्रमुखसहित २७ जनाका ३७ मोबाइल नियन्त्रणमा



काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा अनियमितता र घुस लेनदेनसम्बन्धी उजुरीपछि छापा मार्दै कार्यालय प्रमुखसहित २७ जनाका ३७ थान मोबाइल फोन नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार कर्मचारीहरूले विचौलियामार्फत सेवाग्राहीलाई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने नाममा घुस लिने गरेको गुनासो प्राप्त भएपछि अनुसन्धान थालिएको हो। सोही अनुसन्धानका क्रममा कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित १७ जना कर्मचारीका मोबाइल जफत गरिएको आयोग स्रोतले जनाएको छ।
यसैगरी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रहरी सहायक निरीक्षक डोरहरि नेपालसहित तीन जना प्रहरीकर्मी तथा अन्य संलग्न विचौलियाका मोबाइल पनि नियन्त्रणमा लिइएको छ।
जफत गरिएका मोबाइलमार्फत घुस लेनदेन र समन्वयसम्बन्धी प्रमाण संकलन गर्ने उद्देश्यले डिजिटल परीक्षण गरिने आयोगले जनाएको छ। घटनामा संलग्नमाथि थप अनुसन्धान जारी रहेको र प्रमाणका आधारमा कानुनी कारबाही अघि बढाइने आयोगको भनाइ छ।
चाबहिल कार्यालयमा लामो समयदेखि लाइसेन्स वितरण प्रक्रियामा बिचौलिया सक्रिय रहेको र सेवाग्राहीबाट अतिरिक्त रकम असुली हुने गुनासो उठ्दै आएको थियो। आयोगको पछिल्लो कारबाहीले यातायात सेवामा हुने अनियमितता नियन्त्रणतर्फ महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  ७ : ३४ बजे