भक्तपुर। भक्तपुरको माटो, संस्कृति र यहाँका जनताको सुख–दुःखसँग चार दशकदेखि अनवरत जोडिएको एउटा नाम हो– कबिर राणा । राजनीतिमा निष्ठा र पत्रकारितामा निर्भीक पहिचान बनाएका राणा यतिबेला भक्तपुर क्षेत्र नं. २ का जनताको साझा आवाज बनेर चुनावी मैदानमा होमिएका छन् । पटकपटक नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभाग सदस्य एवं महासमिति र हाल वरिष्ठ जिल्ला कार्यसमिति सदस्य रहेका कबिर राणाको राजनीतिक यात्रा कुनै सुखद् संयोग होइन, बरु पञ्चायतकालीन अन्धकार विरुद्धको कठोर संघर्षको उपज हो । विद्यार्थी जीवनदेखि नै लोकतन्त्रका लागि निरन्तर रूपमा संघर्ष गर्दै आइरहेका राणालाई नेपाली कांग्रेसले यसपालि भक्तपुर २ मा आफ्नो उम्मेदवार बनाएको छ ।
२०३७ सालमा आदर्श माध्यमिक विद्यालयबाट नेपाल विद्यार्थी संघको राजनीतिमा पाइला टेक्दा उनीसँग एउटै सपना थियो- लोकतन्त्र । २०४२ सालको ऐतिहासिक ‘सत्याग्रह’ मा भाग लिँदा उनले ६ महिना जेल जीवनको कठोर यातना भोगे, तर उनको लोकतन्त्रप्रतिको आस्था डगमगाएन ।
बालकोटको बुथ सभापतिदेखि जिल्ला विकास समितिको निर्वाचित सदस्य हुँदै नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागसम्म पुग्दा उनले सधैँ भुँइमान्छेका मुद्दालाई प्राथमिकतामा राखे । उनले बीपी कोइरालाको समाजवादी चिन्तनलाई केवल नारामा मात्र होइन, आफ्नो कार्यशैलीमा पनि उतार्दै आएका छन् ।
राणा केवल राजनीतिज्ञ मात्र होइनन्, उनी एक प्रखर बौद्धिक र कानुनका ज्ञाता पनि हुन् । त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य र कानुनमा स्नातक गरेका उनले पत्रकारितालाई समाज रूपान्तरणको आधार बनाए । ‘देशान्तर साप्ताहिक’को प्रधानसम्पादक भएर उनले दशकौँदेखि जनतालाई सुसूचित गर्दै आएका छन् । राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनजस्ता गरिमामय संस्थाको बोर्ड सदस्यका रूपमा उनले पु¥याएको योगदानले उनको प्रशासनिक, व्यवस्थापकीय र नीतिगत कुशलतालाई प्रमाणित गरिसकेको छ ।
अमेरिका, बेलायत, जर्मनी, जापान र अस्ट्रेलियासहित दुई दर्जनभन्दा बढी मुलुकको भ्रमण गरेका राणासँग विश्वका विकसित शहरहरूको विकास मोडेल र नेपालको मौलिक आवश्यकताबीच समन्वय गर्ने स्पष्ट भिजन छ । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा बलियो वकालत गरेका छन् । भक्तपुरको ऐतिहासिक कला, संस्कृति र सम्पदालाई विश्व पर्यटन बजारसँग जोडेर स्थानीयको आम्दानी वृद्धि गर्ने, सूर्यविनायक र मध्यपुर थिमि क्षेत्रका भित्री सडकहरूको स्तरोन्नति र ढल व्यवस्थापनलाई राणाले आफ्नो प्राथमिकतामा राख्दै आएका छन् ।
भक्तपुर २ का आममतदाताको घरदैलोमा जाँदै गर्दा राणाले सरकारी विद्यालयको स्तर सुधार र स्थानीय तहमा सुलभ स्वास्थ्य सेवाको सुनिश्चितता, स्थानीय युवाहरूलाई सूचना प्रविधि र सीपमूलक तालिममार्फत स्वदेशमै उद्यमी बन्ने वातावरण सिर्जना गर्ने, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री र पारदर्शी बनाएर जनमैत्री शासन व्यवस्था लागू गर्ने विषयलाई चुनावी एजेन्डा बनाएका छन् ।
कबिर राणा केवल एक उम्मेदवार मात्र होइनन्, उनी भक्तपुरको समृद्धिको सपना बोकेका एक भरोसायोग्य सारथी हुन् । उनको विजयले भक्तपुरको आवाजलाई संसदमा बुलन्द पार्ने मात्र नभई, समग्र जिल्लाको विकासमा नयाँ आयाम थप्ने आम मतदाताको बुझाइ छ ।
राजनीति र पत्रकारितालाई जनताको सेवामा समर्पित गरिरहेका राणाले आफूले अहिलेसम्म चालेका अभियान र आफना प्राथमिकतालाई सदन र सरकारसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीयको सुख–दुःखमा सारथी बनिरहेका राणाले अब त्यहाँका माग र आवश्यकतालाई सम्बोधन गर्न थप प्रयास गर्ने स्थानीय मतदाताको अपेक्षा छ ।
११ माघ २०८२, आइतबार
23
Shares









प्रतिक्रिया