काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनपछि पार्टी कार्यालय सानेपामा पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको जानकारी दिएका छन् ।
शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले आज बस्ने केन्द्रीय समितिको बैठक निर्वाचन केन्द्रित महत्वपूर्ण र ऐतिहासिक हुने दाबी गरे । उनले बैठकले लिने निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्ने र निर्वाचनमा कांग्रेसप्रति मत आकर्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
‘आज विशेष महाधिवेशनपछि पार्टी कार्यालयमा पहिलो पटक केन्द्रीय समितिको बैठक बस्दैछ । यो बैठकले निर्वाचनलाई लक्षित गर्दै केही ठोस र ऐतिहासिक निर्णयहरू गर्नेछ,’ पौडेलले भने, ‘नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक विधिवत रूपमा निर्वाचन लक्षित निर्णय हुन गइरहेको छ ।’
महामन्त्री पौडेलले विशेष महाधिवेशनमा गरिएको संकल्पअनुसार कांग्रेसको नेतृत्व र नीति परिवर्तन भइसकेको उल्लेख गर्दै अब देशको नेतृत्व परिवर्तन गर्ने दिशामा पार्टी अघि बढ्ने बताए ।
उनका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसले देशको प्रधानमन्त्री प्रस्ताव गर्ने कार्यक्रमसमेत आजको केन्द्रीय समितिको बैठकको कार्यसूचीमा समावेश गरिएको छ ।
उनले भने, ‘कांग्रेसको नेतृत्व र नीति परिवर्तनपछि देशको नेतृत्व पनि फेर्नेगरी कांग्रेसले नयाँ प्रस्ताव ल्याउने छ भनेर हामीले विशेष महाधिवेशनमा संकल्प गरेका थियौं । त्यही संकल्प बमोजिम कांग्रेस परिवर्तन भयो, कांग्रेस त नयाँ भयो, अब कांग्रेसको नेतृत्वले देशलाई नयाँ बनाउनका निम्ती कांग्रेसको तर्फबाट फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसले देशको प्रधानमन्त्री प्रस्ताव गर्ने कार्यक्रम हाम्रो आज केन्द्रीय समितिको बैठकमा राखिएको छ ।’
९ माघ २०८२, शुक्रबार
115
Shares









प्रतिक्रिया