काठमाडौं। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१÷०८२ माथि बिहीबार छलफल भएको छ ।
छलफलमा सभापति माया प्रसाद शर्माले प्रतिवेदन अन्तिम चरणमा पुगेको जानकारी दिँदै समितिले पछिल्लो समय भएका विभिन्न राजनीतिक घटनाक्रममाथि गहिरो अध्ययन गरेको बताए ।
उनले जेनजी आन्दोलनको विषयलाई पनि समितिले प्राथमिकताका साथ उठाउँदै सम्बन्धित मन्त्रीहरूसँग छलफल गरी उनीहरूलाई जवाफदेही बनाउने काम गरिएको उल्लेख गरे । सभापति शर्माले समितिले अन्य विषयहरूलाई समेत सन्तुलित ढंगले सम्बोधन गर्दै छलफल अघि बढाइरहेको बताए ।
उनले भने, ‘हामीले धेरै कुराहरुको अध्यन गरेका छौं । यो प्रतिवेदन करिब करिब अन्तिम होला । पछिल्लो समय धेरै राजनीतिक घटनाहरु घटेका छन् जसमा हामीले जेनजी आन्दोलनको विषयमा पनि सरल ढंगले सरकारका मन्त्रीहरुलाई लिएर उहाँहरुलाई जवाफदेही बनाउने, छलफल गराउने काम गर्यौं । अन्य कामहरु पनि हामीले सन्तुलित ढंगले सम्बोधन गर्नेगरी छलफल गरिरहेको स्थिती छ ।’
उनले समितिको कार्यशैलीप्रति सन्तुष्टि व्यक्त गर्दै बैठकहरू नियमित रूपमा सञ्चालन भएको र कुनै सदस्यको अनुपस्थितिका कारण बैठक स्थगित गर्नुपर्ने अवस्था नआएको बताए । छलफलका क्रममा विषयगत मतभेद भए पनि मनमुटावको स्थिति नआएको उल्लेख गर्दै उनले समितिलाई एउटै परिवारका सदस्यजस्तै मिलेर सञ्चालन गरिएको बताए ।
‘यो पनि राजनीतिक संस्कारभित्र पर्ने विषय हो,’ सभापति शर्माले भने, ‘समितिका सबै मान्यजनहरूले आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुभएकोमा म खुसी छु ।’ उनले समितिका सबै सदस्यप्रति धन्यवाद व्यक्त गरेका छन् ।











प्रतिक्रिया