रामेछाप । एक समय काठमाडौं जाने पूर्वको प्रमुख नाकाको रूपमा रहेको रामेछापको पुरानो बजार साँघुटार अहिले सुनसान भएको छ ।
लिखु खोला किनारस्थित यो बजार पूर्वको ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु र भोजपुर क्षेत्रका मानिसहरूको काठमाडौं आउजाउ गर्ने मुख्य नाका थियो । तर सडक सञ्जाल विस्तार र समय परिवर्तन सँगै साँघुटार बजारको चहलपहल घट्दै गएको छ।
विसं १९६० मा सुरु भई १९६५ सालतिर साँघुटारबाट ओखलढुङ्गा तर्न लिखु खोलामा झोलुङ्गे पुल बनेपछि यहाँको आवतजावत बढ्नेको थियो । पुल तरेर पूर्व जाने मानिसहरूको आउजाउ बढेपछि साँघुटारमा एक स्थानीयले नाङ्ले पसल सुरु गरेका स्थानीय हीरा उदास बताउँछन्। पछि १९८५ सालदेखि नेवार समुदाय र भक्तपुरबाट आएका भदौकाजीहरूले यहाँ पसल सुरु गरेका थिए ।
हजुबा पुस्ताले सुरु गरेको साँघुटारको व्यापार अहिले नाति र पनाति पुस्ताले धानी रहेका छन् । तर कुनै समय भ्याइनभ्याइ हुने बजारको व्यापार अहिले सुनसान छ ।
साँघुटार बजार ऐतिहासिक बजारको रूपमा चिनिन्छ। करिब एक सय वर्ष पुरानो यो बजारमा ढुङ्गा माटोले बनेका अग्ला घरहरू देखिन्छन्। यस्ता घरहरू चार तले निर्माणका छन् र अहिले बाहिरबाट सिमेन्टले पोतिएको अवस्थामा छन्। बजार क्षेत्रमा क्रमशः नयाँ सिमेन्टका घर बन्न थालेका छन्।
ऐतिहासिक महत्वका यी घरहरू विस्तारै भत्कँदै र माटोमा मिल्दै जाने क्रम बढ्दै गएको छ । यो बजारलाई साना सहरको रूपमा विकास गर्न सके मौलिकताको संरक्षण र गाउँबाट सहर पलायनलाई पनि रोक्न सकिने अवस्था छ ।
स्थानीय र पुरातात्विक हिसाबले महत्त्वपूर्ण यी पुराना घर र साँघुटारको मौलिकता संरक्षण गर्न पुराना घर संरक्षण कार्यक्रम आवश्यक रहेको स्थानीयहरू बताउँछन्। अन्यथा यो बजारको ऐतिहासिक पहिचान माटोमा मिसिने खतरा रहेको उनीहरूको भनाइ छ।
४ माघ २०८२, आइतबार
69
Shares










प्रतिक्रिया