काठमाडौं। संयुक्त राष्ट्रसंघीय अन्तरिम सुरक्षा बल (युनिस्फा) को फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्न नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ शनिबार अबेईतर्फ प्रस्थान गर्दै छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रथी श्रेष्ठलाई २०८२ मंसिर १६ गते उक्त पदमा नियुक्त गरेका थिए।
नेपाली सेनाका अनुसार युनिस्फा मिसनमा नेपाली सेनाले पहिलो पटक फोर्स कमान्डरको जिम्मेवारी प्राप्त गरेको हो। सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा यस नियुक्तिलाई नेपाली सेनाका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरिएको छ।
सन् १९९३ यतादेखि हालसम्म नेपाली सेनाका सात जना उच्च सैनिक पदाधिकारीहरूले संयुक्त राष्ट्रसंघअन्तर्गतका पाँच विभिन्न शान्ति मिसनहरूमा फोर्स कमान्डरको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्।
नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा प्राप्त यस्ता जिम्मेवारीहरूले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल र नेपाली सेनाको छवि अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।











प्रतिक्रिया