Logo

मुख्य समाचार

रौतहटका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना



रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्लाका सबै निर्वाचन क्षेत्रमा कार्यालय सञ्चालनमा ल्याइएको हो।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार निर्वाचन क्षेत्र नम्बर १ का लागि गौर स्थित आन्तरिक करदाता सेवा कार्यालयमा कार्यालय स्थापना गरिएको छ ।
यहाँ जिल्ला न्यायाधीश मनोज केसीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको उनले जानकारी दिए।निर्वाचन क्षेत्र नम्बर २ का लागि परोहा नगरपालिकास्थित कृषि, पशु तथा पन्छी सेवा केन्द्रमा कार्यालय सञ्चालनमा ल्याइएको हो ।
जहाँ निर्वाचन अधिकृतका रूपमा इजलास अधिकृत सिताराम खड्का खटिएको उनले बताए । निर्वाचन क्षेत्र नम्बर ३ का लागि कटहरिया नगरपालिकाको कार्यालयमा स्थापना गरिएको छ ।
यहाँ उपसचिव अवध किशोर प्रसाद कुशवाहले निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालेको उनले जानकारी दिए । निर्वाचन क्षेत्र नम्बर ४ का लागि चन्द्रपुर नगरपालिका–५ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जहाँ निर्वाचन अधिकृतका रूपमा उपरजिस्ट्रार उद्धव ढोडारी खटिएको उनले बताए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख दासले कार्यालय स्थापनासँगै अब उम्मेदवारी दर्ता, मतदाता शिक्षा र मतदान केन्द्रहरूको अन्तिम व्यवस्थापन जस्ता कार्यहरूले गति लिने जानकारी दिए ।
निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकायहरूसँग समन्वय गरी विशेष सुरक्षा योजना समेत तर्जुमा गरिरहेको छ ।
मतदाताहरूले निर्धक्क भएर मताधिकार प्रयोग गर्न सकून् भन्ने उद्देश्यले गाउँ–गाउँमा सचेतना अभियान समेत चलाइने बताइएको छ । कार्यालय स्थापनासँगै जिल्लामा चुनावी चहलपहल समेत बढेको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ५ : ५१ बजे