Logo

मुख्य समाचार

मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



मुगु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि जिल्ला अदालत मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको छ । मुगु क्षेत्र नम्बर १ अन्तर्गत सञ्चालन हुने उक्त कार्यालय सदरमुकाम गमगढीस्थित जिल्ला अदालत परिसरभित्र रहनेगरी स्थापना गरिएको हो ।

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन प्रशासनले आवश्यक तयारी तीव्र पारेको मुख्य निर्वाचन अधिकृत माननीय जिल्ला न्यायाधीश निमबहादुर कुवरले जानकारी दिए ।

उनका अनुसार जिल्लाभरि कुल ६७ वटा मतदान स्थल र ६९ वटा मतदान केन्द्र तोकिएका छन्, जसबाट मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । मुख्य निर्वाचन अधिकृत कुवरले निर्वाचन प्रक्रियालाई मर्यादित बनाउन सबै राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चारकर्मी तथा सरोकारवाला निकायको सक्रिय सहयोग आवश्यक रहेको बताए ।

उनले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै डर, दबाब, प्रलोभन तथा अवाञ्छित प्रभावबाट मुक्त भई मतदान गर्न मतदातालाई अनुरोध गरे । उनका अनुसार निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउन सुरक्षा व्यवस्था, कर्मचारी परिचालन, मतदान सामग्री व्यवस्थापन तथा मतदाता शिक्षासम्बन्धी कार्यक्रमलाई समेत प्राथमिकताका साथ अघि बढाइएको छ ।

निर्वाचनसँग सम्बन्धित कुनै गुनासो वा समस्या भए तत्काल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफल, स्वच्छ र पारदर्शी रूपमा सम्पन्न गर्न निर्वाचन प्रशासनले सबै पक्षको सहकार्य अपेक्षा गरेको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : ३८ बजे