Logo

मुख्य समाचार

धनुषाका अरगज्जा पोखरीमा संस्कृति भोजको आयोजना



जनकपुर । एक दशक देखि धनुषाको जनकपुरधामस्थित जानकी चोकमा रहेको एतिहासिक अरगज्जा पोखरीमा माघ १ गत्ते संस्कृति भोजको आयोजना हुने गरेको छ ।

सुन्दा र हेर्दा अचम्म लाग्ने यो संस्कृति भोज, कुनै जाती, धर्म, पेसा, उमेर, दलको नभई सम्पूर्ण मानवका लागि आयोजना गरिने गरेको संस्कृति भोजका आयोजक एवम जानकी चोकका स्थानीय बिरेन्द्र कर्ण बताउँछन् ।

उनले मिथिला परम्परामा माघ १ गत्ते खिचडी (चामल, दाल, विभिन्न तरकारी हालेर बनाइएको प्रकार), दही, तिलको लड्डु (लाइ) खाने परम्परा रहेको छ । सोही परम्परालाई जीवन्त राख्न र नयाँ पुस्तामा आफ्नो संस्कृति र पहिचान बचाइ राख्नुपर्ने सन्देश दिन संस्कृति भोजको आयोजना गर्ने गरेको बताए ।

यो भोजको मुख्य आकर्षण भनेको यसमा सहभागी हुनेहरु हुन । विभिन्न राजनीतिक दलका पदाधिकारी, विभिन्न पालकिाका मेयर÷उपमेयर, सरकारी निकायका कर्मचारीदेखि सर्वसाधारण रिक्सा चालकदेखि बाटोमा मागेर खानेसम्मको यस भोजमा उपस्थिती देख्न सकिन्छ । त्यसमा पनि एकै ठाउँमा बसेर भोज खाएको दृश्यले सबैको आखाँ तानेको हुन्छ ।

एक दशकदेखिको परम्परालाई निरन्तरता दिँदै आज पनि आयोजना गरिएको यो संस्कृति भोजमा पनि यस्तै दृश्य देख्न पाइएको छ । जनकपुरधाम उमहानगरपालिकाका मेयरदेखि, विभिन्न राजनीतिक पार्टीका नेता, कार्यकर्ता, सरकारी कर्मचारी, मेधशी आयोगका पूर्व अध्यक्षलगायतका व्यक्तिहरुको उपस्थिती र एकै ठाउँमा बसेर भोज खाएको दृश्य अतिनै दुर्लभ रहेको थियो ।

यस भोजमा को कुन पार्टीको हो, को कुन जातीको हो, को कुन धर्मको हो र को कुन पेशामा आवद्ध छ त्यसलै कुनै फरक पर्दैन । तराई मधेशका ग्रामिण भेगमा अहिले पनि कुनै भोज भतेर हुँदा सम्पूर्ण गाउँवासी एकै ठाउँमा भुईँमै बसेर खाने गर्छन। सोही परम्परालाई जीवन्त दिन यो संस्कृति भोज गर्ने गरेको आयोजक कर्णको भनाई छ । पश्चिमी सभ्यताको असरले आफ्नौ मौलिक संस्कृति र परम्परा हराउँदै गएको बेला जानकी चोकका स्थानीयवासीले गरेको यो प्रयत्नको प्रशंसा धनुषाभरि हुने गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ६ : २८ बजे