काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संस्थापन पक्षले आफूहरुलाई निष्कासन गर्ने निर्णय गरेकोप्रति कडा जवाफ फर्काउँदै तपाईको प्राइभेट कम्पनी हो निकाल्न भन्दै प्रश्न गरेका छन् ।
बुधबार विशेष महाधिवेशन स्थलमा बोल्दै उनले बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्ने बताए ।
उनले भने, ‘बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्छ । मैले समाचार सुने नेपाली कांग्रेको केन्द्रीय समितिको बैठकले दुई जना महामन्त्री र एक जना सहमहामन्त्रीलाई निकालियो रे ? तपाईको प्राइभेट कम्पनी हो र निकाल्नलाई ? हामीलाई कसैले घरभित्र आइज भनेर आएको होईन,जा भनेर जानलाई ।’
त्यस्तै उनले महाधिवेशनले निर्वाचन आयोगलाई समयमा नै जानकारी गराएको पनि बताए । शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गर्दै उनले नयाँ कार्यसमिति चयन गर्ने क्रममा आफूहरु रहेको बताए ।
उनले भने, ‘तपाईहरु मात्रै निर्वाचन आयोग जान्नुहुन्छ ? यही निर्वाचन आयोगमा यही ठाउँबाट विषेश महाधिवेशनको प्रारम्भ भएर त्यो विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमा नै जानकारी गराइसकेको छ । शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ हामी नयाँ कार्यसमिति चयन गर्ने क्रममा छौं ।’
उनी कारबाहीको निर्णय गर्नुअघि आफूलाई स्पष्टिकरण नसोधिएको भन्दै आक्रोसित भए ।
‘म पार्टीको महामन्त्री मलाई कारबाही गर्नुअघि एकपटक सोध्नुपर्दैन् ? मलाई स्पष्टिकरण सोध्नु पर्दैन् ? निजी कम्पनीमा समेत सोधिन्छ ।’ उनले भने ।
उनले यो पार्टी नफुट्ने भन्दै अब आधिकारीक पार्टी नै यही भएको दाबी गरे ।
प्रधानमन्त्रीको उम्मेद्वार जसलाई बनाएर जाँदा पनि हुने बताउँदै उनले तर कम्तिमा पनि शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर जान नैतिकताले नदिने धारणा राखे ।
१ माघ २०८२, बुधबार
23
Shares









प्रतिक्रिया