काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महिना सकिन लाग्दा सरकारको पुँजीगत (विकास) बजेट खर्च ११ प्रतिशतभन्दा कम रहेको छ। अर्थ मन्त्रालयका अनुसार पुस २६ गतेसम्म ४ खर्बभन्दा बढी विनियोजन गरिएको पुँजीगत बजेटमध्ये ४३ अर्ब ६० करोड रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल विनियोजित बजेटको १०.६९ प्रतिशत हो।
गत आर्थिक वर्षको यही अवधिमा सरकारले ५३ अर्ब ५८ करोड रुपैयाँ पुँजीगत खर्च गरेको थियो, जुन विनियोजित बजेटको १५.२१ प्रतिशत थियो। अघिल्लो वर्षको तुलनामा चालु वर्षमा विकास बजेट खर्च अझै कमजोर देखिएको छ।
अर्थ मन्त्रालयले जेनजी आन्दोलन र रुग्ण ठेक्कासम्बन्धी निर्णयका कारण विकास बजेट कार्यान्वयन प्रभावित भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार करिब एकदेखि डेढ महिनासम्म प्रशासनिक संयन्त्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा पुँजीगत खर्च अपेक्षाअनुसार हुन सकेन।
उनले बजेट कार्यान्वयनमा चालु खर्च अपेक्षित भए पनि पुँजीगत खर्चमा समस्या देखिएको बताए। मन्त्रालयले बजेट कार्यान्वयन गर्ने निकायलाई सहजीकरण गरिरहेको र आगामी दिनमा विकास बजेट खर्चमा सुधार आउने उनको भनाइ छ।
यसैबीच, लामो समयसम्म काम नगर्ने ठेक्काप्रति निर्णय लिँदा अल्पकालीन रूपमा असर देखिए पनि दीर्घकालीन रूपमा विकास निर्माणमा सकारात्मक प्रभाव पर्ने अर्थ मन्त्रालयको दाबी छ।
निर्माण व्यवसायीहरू भने आयोजना छनोट प्रक्रियामै समस्या रहेको बताउँछन्। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार विगतमा पर्याप्त तयारीबिना आयोजना अघि बढाइँदा निर्माण व्यवसायीलाई काम गर्न कठिनाइ भइरहेको छ, जसको असर विकास निर्माणमा परेको छ।










प्रतिक्रिया