Logo

धर्म / संस्कृति

माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को



बाँके । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा बाँकेको बैजनाथ गाउँपालिका–३ सुतैहिया गाउँमा ३६ गाउँका थारु समुदायको सहभागितामा भव्य सांस्कृतिक नाच प्रस्तुत गरिएको छ ।
परम्परागत वेशभूषा, लोकधुन र सामूहिक नृत्यमार्फत थारु समुदायको मौलिक संस्कार, संस्कृति र ऐतिहासिक पहिचान झल्काइएको थियो ।
थारु समुदायका लागि माघे सङ्क्रान्ति वर्षकै प्रमुख पर्व मानिन्छ । यो पर्व सामाजिक एकता, पारिवारिक मेलमिलाप र सांस्कृतिक चेतनासँग गहिरो रूपमा जोडिएको छ । सो अवसरमा युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्मले ढोल, मादल र झ्यालीको तालमा नाच प्रस्तुत गर्दै सदियौँदेखि चल्दै आएको परम्परालाई निरन्तरता दिएका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले यस्ता सांस्कृतिक कार्यक्रमले थारु समुदायको पहिचान संरक्षण हुनुका साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा सुतैहिया गाउँ सांस्कृतिक उत्सवस्थलमा परिणत भएको थियो ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ११ : ४९ बजे