Logo

मुख्य समाचार

नेपाल कृषि सहकारी केन्द्रीय संघमा उप्रेती अध्यक्ष निर्वाचित



काठमाण्डौ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको पाँचौँ अधिवेशनबाट एकराज उप्रेतीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ। उप्रेती अध्यक्षमा चयन हुनुभएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पूर्ण शर्मा, महिला उपाध्यक्षमा मीना कुमारी ढकाल तथा सचिवमा चिरञ्जीवी केसी निर्वाचित हुनुभएको छ।

१५ सदस्यीय सञ्चालक समिति गठनका क्रममा सातै प्रदेशबाट एक–एक जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था अनुसार वागमती प्रदेशबाट एकराज उप्रेती, गण्डकीबाट कृष्ण बाबु श्रेष्ठ, लुम्बिनीबाट पूर्ण शर्मा र सुदूरपश्चिमबाट धर्म कुँवर निर्विरोध निर्वाचित हुनुभएको थियो।

प्रदेशगत निर्वाचनअन्तर्गत कोशी, मधेस र कर्णाली प्रदेशमा मतदान भएको थियो। कोशी प्रदेशबाट इन्दिरा निरौला ४५ मतसहित विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी खगेन्द्रराज भण्डारीले ४१ मत प्राप्त गर्नुभयो। मधेस प्रदेशमा मिश्रलाल सहनी ५६ मतसहित निर्वाचित हुनुभयो। उहाँका प्रतिस्पर्धीमध्ये राम सोभित यादवले २०, दिपेन्द्र कुमार यादवले १२, रामचन्द्र यादवले ५ र शम्भु नाथ यादवले ३ मत प्राप्त गर्नुभयो। कर्णाली प्रदेशबाट धर्मराज थापा २८ मतसहित निर्वाचित हुनुभयो भने प्रतिस्पर्धी चाँदनी ढकालले २६ मत प्राप्त गर्नुभयो।

खुल्ला सञ्चालक पदमा चिरञ्जीवी केसी (३७७), सुखदेव न्यौपाने (३६२), हरी बहादुर बस्नेत (३३५) र हरी बहादुर अधिकारी (३२५) मतसहित निर्वाचित हुनुभएको छ। महिला सञ्चालकतर्फ गीता केसी (४१५), मीना कुमारी ढकाल (४०१), देवकी कुमारी भण्डारी (३२३) र गोमा देवी आचार्य (२५७) मतसहित विजयी हुनुभएको छ।

चार वर्षे कार्यकालका लागि निर्वाचित सबै सञ्चालकलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पोषणराज लामिछानेले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।

केन्द्रीय संघमा हाल १ हजार १५१ सदस्य संस्था आबद्ध छन्। संघले ७७ जिल्लामा कार्य क्षेत्र विस्तार गर्दै करिब ९ लाख किसान परिवारलाई सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  २ : २३ बजे