काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा उपमहानिरीक्षक (डीआईजी) तहका ६ पद रिक्त भएका छन् । डीआईजी कमल गिरी, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी अवकाशमा गएसँगै रिक्त दरबन्दी संख्या ६ पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार डीआईजी गिरी, नेम्वाङ र सुवेदी यही पुस २४ गतेदेखि अनिवार्य अवकाशमा गएका हुन् । उनीहरूले डीआईजी पदको चार वर्षे कार्यकाल तथा सरकारले थप गरेको एक वर्षे म्याद पूरा गरेका थिए ।
अवकाशअघि डीआईजी गिरी कार्यविभाग, नेम्वाङ मानव स्रोत विभाग र सुवेदी स्टाफ कलेजमा कार्यरत थिए । गिरी र नेम्वाङ २०५६ सालको ब्याचका अधिकृत हुन् भने सुवेदी २०५४ सालमा सेवामा प्रवेश गरेका थिए ।
यसअघि नै सशस्त्र प्रहरी बलमा डीआईजी तहका तीन पद रिक्त रहेकाले हाल कुल रिक्त संख्या ६ पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।










प्रतिक्रिया