Logo

राजनीति

कांग्रेस एकताबद्ध भएर निर्वाचनमा जाने, विशेष महाधिवेशन नहुने नेताहरूको दाबी



काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षधर नेताहरूले पार्टी नफुट्ने र एकताबद्ध भएर आमनिर्वाचनमा जाने बताएका छन् । निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेकाले अहिले विशेष वा नियमित महाधिवेशन गर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ ।

काठमाडौंमा आयोजित भेलापछि नेताहरूले निर्वाचनको मुखमा महाधिवेशन गर्दा पार्टीलाई फाइदा नहुने निष्कर्ष निकालेका हुन् । कांग्रेस नेता शिव हुमागाईंले आमनिर्वाचन नजिक आइसकेकाले आन्तरिक समस्या समाधान गरेर अघि बढ्नु नै उपयुक्त हुने बताए । उनका अनुसार पार्टीभित्र देखिएका समस्या समाधानका लागि छलफल भइरहेको छ र पुस २६ भित्र निकास निकाल्ने तयारी गरिएको छ ।

हुमागाईंले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माप्रति संस्थापन पक्षको कुनै असहमति नरहेको स्पष्ट गर्दै महामन्त्री पदले सबैलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने भूमिका निर्वाह गर्नुपर्ने बताए । निर्वाचनअघि कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाउन नयाँ उपायबारे छलफल भइरहेको उनले जानकारी दिए ।

अर्का नेता मदनकृष्ण श्रेष्ठले निर्वाचनअघि महाधिवेशन सम्भव नरहेको भन्दै चुनावपछि महाधिवेशन गर्नुपर्ने माग धेरै सदस्यहरूको रहेको बताए । उनले दुई महिना ढिलाइ हुँदैमा आपत्ति जनाउनुपर्ने कारण नरहेको उल्लेख गरे ।

नेताहरूले कांग्रेस विधानमा एक वर्षसम्म महाधिवेशनको समय थप गर्न सकिने व्यवस्था रहेकाले नियमित महाधिवेशन ढिला हुनु अवैधानिक नहुने तर्क गरे । क्रियाशील सदस्यताको काम सम्पन्न भएको अवस्थामा पुसभित्रै महाधिवेशन गर्न सकिने अवस्था रहे पनि निर्वाचन प्राथमिकतामा रहेको उनीहरूको भनाइ छ ।

संस्थापन पक्षधर नेताहरूले कांग्रेस कुनै पनि हालतमा नफुट्ने र एकताबद्ध भएर निर्वाचनमा जाने दाबी गरेका छन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १ : ३५ बजे