Logo

कला/साहित्य

पोखरामा ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु



काठमाडौं । पोखरामा शुक्रबार(आज)देखि ‘आर्ट इन हिमालय’ कला प्रदर्शनी सुरु भएको छ । सिर्जनशील कलाकार समूह, पोखराको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनीको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए ।
प्रदर्शनीले नेपाली कलाकार र कलाकृतिलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमार्फत नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारबीच अनुभव, सीप र प्रविधिको आदानप्रदान हुने र पोखरालाई कलाका माध्यमबाट विश्वसँग जोड्ने विश्वास गरिएको छ ।
पोखरा–९ नयाँबजारस्थित पोखरा आर्ट ग्यालरीमा सुरु भएको प्रदर्शनीमा नेपालसहित सात देशका कलाकारका कलाकृति राखिएका छन् । प्रदर्शनीमा ३३ जना नेपाली कलाकार तथा अमेरिका, अष्ट्रेलिया, बेलायत, डेनमार्क, क्यानडा र आयरल्याण्डका १५ जना विदेशी कलाकार सहभागी छन् ।
सात देशका कलाकारका ७० वटा कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शनी अवलोकन गर्न सकिने छ ।
आयोजक सिर्जनशील कलाकार समूह, पोखराका अनुसार दोस्रो चरणको प्रदर्शनी आगामी माघ १० गतेदेखि सुरु हुनेछ, जसमा २० जना विदेशी कलाकारसहित नेपाली कलाकारको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १२ : ३२ बजे