काठमाडौं । नेकपा एमालेले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका सन्देश जनस्तरसम्म पुर्याउन मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ ।
पार्टी केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार जारी गरिएको अन्तरपार्टी निर्देशनमा मंसिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न महाधिवेशनका निर्णय र सन्देशलाई व्यापक रूपमा जनतासमक्ष पुर्याउन भनिएको छ ।
एमालेले एघारौँ राष्ट्रिय महाधिवेशनले प्रतिगमनविरुद्ध व्यापक जनमत निर्माण गर्ने तथा भदौ २३ र २४ गतेका घटनाबाट राष्ट्रिय राजनीति र पार्टी जीवनमा उत्पन्न समस्याको विधिसम्मत समाधान खोज्ने उद्देश्य लिएको स्पष्ट पारेको छ ।
अन्तरपार्टी निर्देशनमा ती दुवै उद्देश्यमा महाधिवेशन पूर्ण रूपमा सफल भएको उल्लेख छ ।
महाधिवेशनका क्रममा प्रतिनिधि चयनदेखि नेतृत्व निर्वाचनसम्म देखिएका बहस र विवाद समाप्त भएको पार्टीको दाबी छ ।
‘निर्वाचनका समयमा देखिएको समूहबन्दी त्यहीँ सकिएको छ । अहिले पार्टी वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा पुनः एकताबद्ध भएको छ,’ निर्देशनमा भनिएको छ ।
एमालेले दोस्रो विधान महाधिवेशनबाट पारित दस्तावेज र एघारौँ राष्ट्रिय महाधिवेशनबाट अत्यन्त लोकतान्त्रिक ढंगले चयन गरिएको नेतृत्वलाई आधार मानेर पार्टी अघि बढ्नुपर्ने जनाएको छ । ‘आगामी पाँच वर्षका लागि नीति र नेतृत्वको प्रश्न विधिसम्मत रूपमा निरूपण भएको छ,’ निर्देशनमा भनिएको छ, ‘अब पार्टी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्य हासिल गर्न एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नुपर्छ।’
भदौ २३ र २४ गतेका घटनालाई एमालेले राष्ट्रको जीवनमा गम्भीर र दुःखद घटना भएको उल्लेख गरेको छ । ती घटनाले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको र संविधानले नचिनेको सरकारले जननिर्वाचित सरकारको स्थान लिएको पार्टीको आरोप छ ।
‘असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरियो, संविधान घायल बनाइयो, राष्ट्रको अस्मिता र लोकतन्त्रका आधार स्तम्भमाथि प्रहार गरियो,’ निर्देशनमा उल्लेख छ । यस्तो अवस्थामा मुलुकलाई सही दिशातर्फ फर्काउन आन्दोलनकारी ढंगले अघि बढ्नुपर्ने एमालेको निष्कर्ष छ ।
प्रतिनिधिसभा पुनस्र्थापना होस् वा निर्वाचन—दुवै मोर्चामा सफलता प्राप्त गर्न पार्टीपंक्ति एकताबद्ध भएर आन्दोलनकारी ढंगले अघि बढ्नुपर्ने एमालेले स्पष्ट पारेको छ ।
साथै अन्तर्राष्ट्रिय घटनाक्रमले पनि राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र लोकतन्त्रको रक्षाका लागि सतर्क र संघर्षशील हुनुपर्ने आवश्यकता पुष्टि गरेको पार्टीको भनाइ छ ।










प्रतिक्रिया