Logo

समाचार

आँखा लेन्स प्रयोग गरी क्यासिनोमा ठगी : ७ जना पक्राउ, ४ जना पुर्पक्षका लागि कारागार चलान



काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. २६ ठमेलस्थित छाँया सेन्टरमा सञ्चालनमा रहेको Waldo Dynasty Entertainment Pvt. Ltd. क्यासिनोमा आँखा लगाउने विशेष Eye Lens प्रयोग गरी तास स्पष्ट देख्ने माध्यमबाट जुवा खेली ठगीजन्य कार्य गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरूको साथबाट Eye Lens, तास, नगद रकम, मोबाइल फोन, राहदानी, ATM कार्डलगायतका सामग्री बरामद गरेको जनाएको छ। पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको थियो।

अदालतको आदेशअनुसार पक्राउ परेकामध्ये ४ जना भारतीय नागरिकलाई पुर्पक्षका लागि कारागार पठाइएको छ। कारागार चलान हुनेमा

  • भारत देश, उत्तर पश्चिम दिल्ली रोहिणी सेक्टर–१७ स्थायी ठेगाना भएका ५७ वर्षीय सुरेश महाजन,
  • भारत देश, उत्तराखण्ड विकासनगर देहरादून स्थायी ठेगाना भएका ३९ वर्षीय प्रमोद मौर्य,
  • सोही ठेगाना भएका ३२ वर्षीय विक्रम सिंह र
  • भारतको हरियाना प्रदेश कर्नाल जिल्ला किशानबस्ती निलोखेरी स्थायी ठेगाना भएका ३७ वर्षीय दिनेश वर्मा रहेका छन्।

यसैगरी, जिल्ला सुनसरी रामधुनी नगरपालिका–८ स्थायी ठेगाना भई बस्ने ३५ वर्षीया चिजा खड्का र काठमाडौं जिल्ला टोखा नगरपालिका–८ बानियाटार बस्ने ४० वर्षीया भवानी पाण्डे जनही १ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

त्यस्तै, चिन देश (हङकङ) निवासी तथा क्यासिनो सञ्चालक ७५ वर्षीय Chan Man Ching लाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ८ : ०१ बजे