Logo

राजनीति

राष्ट्रिय सभालाई प्रभावकारी सदनको रुपमा स्थापित गर्नुपर्छ : झाँक्री



काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय सभालाई प्रभावहिन होइन प्रभावकारी सदनको रुपमा स्थापित गर्ने बताएकी छन् ।
राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारमा चयन भएपछि उनले राष्ट्रिय सभा प्रभावहिन सदन हो भन्ने बुझाई रहेको भन्दै यसलाई प्रभावकारी बनाउने र संविधान स्थापित गर्ने काममा आफ्नो भूमिका रहने बताइन् ।
उनले भनिन्, ‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने हुन्छ र राष्ट्रिय सभा प्रभावहिन सदन हो भन्ने होइन कि एकदमै प्रभावकारी थलो हो । यसले कतिपय महत्वपूर्ण कानूनमा पनि भूमिका निर्वाह गरेको हुन्छ । साथै हाम्रो टिमले राष्ट्रिय सभाको सदस्यहरुले पनि प्रभावकारी काम गर्छन् भन्ने कुरा देखाउनुपर्छ । संविधान र पार्टी नीति सिद्धान्त स्थापित गर्नको लागि पनि मेरो भूमिका राष्ट्रिय सभामा हुनेछ ।’
राष्ट्रिय सभालाई विज्ञ र अनुभविहरुको सभा भनेर मानिन्छ भने त्यसको नयाँ अभ्यासको सुरुवात पनि गर्नुपर्ने उनको भनाई छ ।
साथै, उनले दलिय व्यवस्थामा व्यक्तिको हिरोइजम होइन पार्टीको विचार, सिद्धान्त र कार्यक्रम अनुसार काम गर्नुपर्ने भन्दै पार्टीले दिएको जिम्मेवारलाई प्रभावकारी रुपमा निर्वाह गर्ने बताइन् ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ५ : ४५ बजे