Logo

समाचार

जाडोयाममा गिजर प्रयोग गर्दा बेहोस हुने तथा मृत्यु हुने घटना बढ्दै



काठमाडौं। जाडोयाम सुरु भएसँगै गिजर प्रयोग गरी नुहाउने क्रममा बेहोस हुने तथा मृत्यु हुने घटनामा वृद्धि भएको नेपाल प्रहरीले जनाएको छ। विशेषगरी भेन्टिलेसनको उचित व्यवस्था नभएका स्नान कक्ष वा बाथरुममा गिजर प्रयोग गर्दा यस्ता दुःखद घटनाहरू हुने गरेको पाइएको छ।

नेपाल प्रहरीका अनुसार बन्द स्नान कक्षमा गिजर चलाउँदा कार्बन मोनोअक्साइड ग्यासको मात्रा अत्यधिक बढ्ने र अक्सिजनको कमी हुन जाने हुँदा मानिस बेहोस हुने तथा ज्यानसमेत जाने जोखिम बढ्ने गर्दछ। पछिल्लो समय काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा यस्ता घटनाहरू सार्वजनिक भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले जाडो मौसममा गिजर प्रयोग गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले स्नान कक्षमा पर्याप्त हावाको आवतजावत हुने गरी भेन्टिलेसनको व्यवस्था गर्न, पूर्ण रूपमा बन्द कोठामा गिजर नचलाउन तथा नुहाउने क्रममा असहज महसुस भएमा तुरुन्त बाहिर निस्कन सुझाव दिएको छ।

नेपाल प्रहरीले नागरिकको सुरक्षाका लागि सचेत रहन अनुरोध गर्दै यस्ता सावधानीले ज्यान जोगाउन सकिने जनाएको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : ३२ बजे