Logo

विश्व

ट्रम्पद्वारा भारतमाथि ५० प्रतिशत ट्यारिफ, मोदी असन्तुष्ट



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद गरेको आरोप लगाउँदै भारतमाथि ५० प्रतिशत ट्यारिफ लगाएका छन् । सो निर्णयका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफूहरूसँग खुसी नरहेको ट्रम्पले बताएका छन् ।

भारतीय सरकारी समाचार संस्था पीटीआईका अनुसार वासिङ्टनमा हाउस रिपब्लिकन पार्टीका सदस्यहरूसँगको बैठकमा ट्रम्पले प्रधानमन्त्री मोदीसँगको भेटको प्रसंग उठाउँदै भने, “प्रधानमन्त्री मोदी आफैँ मसँग भेट्न आएका थिए । उनले मसँग भेट्न अनुमति मागे र मैले सहमति दिएको थिएँ ।” तर उक्त भेट कहिले र कहाँ भएको थियो भन्ने विषयमा ट्रम्पले खुलाएका छैनन् ।

ट्रम्पका अनुसार भारतले लामो समयदेखि अमेरिकाबाट अपाचे हेलिकोप्टर खरिद गर्दै आएको छ र हाल भारतले ६८ वटा अपाचे हेलिकोप्टर अर्डर गरेको छ । “मोदीसँग मेरो राम्रो सम्बन्ध छ,” ट्रम्पले भने, “अहिले भारतले रुसबाट तेल खरिद उल्लेख्य रूपमा घटाएको छ।”

अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत ट्यारिफमध्ये २५ प्रतिशत अतिरिक्त भन्सार रुसबाट तेल खरिद गरेको कारणले लगाइएको हो । ट्रम्पले यसअघि पनि भारतले रुसबाट तेल आयात घटाउनु आफूलाई खुसी पार्नका लागि गरिएको निर्णय भएको दाबी गरेका थिए ।

“प्रधानमन्त्री मोदी राम्रो व्यक्ति हुन् । उनीहरू मलाई खुसी पार्न चाहन्थे,” ट्रम्पले भने, “हामी व्यापार गर्छौँ र आवश्यक परे ट्यारिफ अझै बढाउन सक्छौँ।”

युक्रेन युद्धपछि भारत रुसको सबैभन्दा ठूलो तेल खरिदकर्ता बनेको थियो । अमेरिकी अधिकारीहरूले भारतले रुसी तेल खरिद गरेर युक्रेनमाथि भइरहेका आक्रमणलाई अप्रत्यक्ष रूपमा वित्तपोषण गरिरहेको आरोप लगाउँदै आएका छन् ।

यसैबीच, अमेरिकी सिनेटर लिन्डसे ग्राहामले करिब एक महिनाअघि भारतीय राजदूत विनय मोहन क्वात्रासँग भेट भएको र उक्त भेटमा भारतले रुसबाट तेल आयात घटाउने विषय मुख्य एजेन्डा रहेको बताएका छन् । ग्राहामका अनुसार भारतीय राजदूतले राष्ट्रपति ट्रम्पसम्म भारतमाथि लगाइएको अतिरिक्त २५ प्रतिशत ट्यारिफ हटाउन आग्रह पुर्‍याउन अनुरोध गरेका थिए ।

रोयटर्सका अनुसार भारतले सन् २०२१ पछि पहिलोपटक रुसबाट कच्चा तेल आयात घटाएको छ । नोभेम्बरमा भारतको रुसी तेल आयात दैनिक करिब १७.७ लाख ब्यारेल रहेकोमा डिसेम्बरमा घटेर १२ लाख ब्यारेलमा झरेको छ । आगामी महिनाहरूमा यो मात्रा दैनिक १० लाख ब्यारेलभन्दा तल झर्न सक्ने अनुमान गरिएको छ ।

नोभेम्बर २१ पछि रुसका प्रमुख तेल कम्पनी रोसनेफ्ट र लुकोइलमाथि अमेरिकी प्रतिबन्ध लागु भएपछि भारतको रुसी तेल आयातमा गिरावट आएको बताइएको छ । जनवरीमा आउने तथ्यांकमा अझ ठूलो कमी देखिन सक्ने विश्लेषकहरूको अनुमान छ ।

स्रोत: पीटीआई, रोयटर्स, टाइम्स अफ इन्डिया

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  २ : ०३ बजे