Logo

मुख्य समाचार

कोलम्बियाका राष्ट्रपति पेट्रोले ट्रम्पलाई दिए चुनौती, क्षेत्रीय तनाव चर्कियो



काठमाडौं। भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीपछि कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुलेआम चुनौती दिएका छन्। पेट्रोले सोमबार ट्रम्पलाई उद्देश्‍य गर्दै “हिम्मत छ भने मलाई पक्रनुहोस्” भनेका छन्।

पेट्रोले आफू कोलम्बियामै रहेको र अमेरिकाको कदमको पर्खाइमा रहेको बताएका छन्। उनको यो अभिव्यक्ति भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो पक्राउ परेपछि आएको हो, जसले ल्याटिन अमेरिकामा राजनीतिक तरंग सिर्जना गरेको छ।

पेट्रोले अमेरिकाले कोलम्बिया वा आसपासका क्षेत्रमा सैन्य आक्रमण गरे गम्भीर परिणाम हुने चेतावनी दिएका छन्। उनका अनुसार अमेरिकी बमबारी भए ग्रामीण क्षेत्रका किसानहरूले हतियार उठाएर पहाडी क्षेत्रमा गुरिल्ला युद्ध सुरु गर्न सक्नेछन्, जसले सम्पूर्ण क्षेत्र अस्थिर बनाउने जोखिम छ।

पूर्व गुरिल्ला नेता रहेका पेट्रोले सन् १९९० को दशकमा हतियार त्यागेको उल्लेख गर्दै भने, “मैले फेरि कहिल्यै बन्दुक नबोक्ने प्रतिज्ञा गरेको थिएँ, तर देश र मातृभूमिको रक्षाका लागि आवश्यक परे हतियार उठाउन सक्छु।”

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोलम्बियालाई ‘बिरामी देश’को संज्ञा दिएका थिए। आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले कोलम्बियामा कोकिन उत्पादन र तस्करीमा संलग्न व्यक्ति शासनमा रहेको आरोप लगाए र पेट्रो लामो समय सत्तामा नरहने दाबी गरे।

ट्रम्पका भनाइप्रति प्रतिक्रिया दिँदै कोलम्बिया सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध संवाद, सहयोग र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने स्पष्ट पारेको छ। कुनै पनि देशलाई धम्की दिनु वा बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय नियमविपरीत भएको कोलम्बियाको भनाइ छ।

यसअघि अक्टोबरमा ट्रम्प प्रशासनले कोलम्बियाली राष्ट्रपति पेट्रो र उनका केही परिवारजनमाथि लागूऔषध तस्करीसँग सम्बन्धित आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो। कोलम्बिया विश्वकै सबैभन्दा ठूलो कोकिन उत्पादक देश मानिन्छ।

उता, ह्वाइट हाउसले सामाजिक सञ्जाल एक्समार्फत भेनेजुएलाका राष्ट्रपति मादुरोका पुराना अभिव्यक्ति र अमेरिकी कारबाहीका दृश्य समेटिएको भिडियो सार्वजनिक गरेको छ। भिडियोमा अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले “मादुरोलाई मौका दिइएको थियो, तर उनले गुमाए र अब परिणाम भोगिरहेका छन्” भन्ने टिप्पणी गरेका छन्।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १ : ५५ बजे