काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध योजनाबद्ध घेराबन्दी भएको आरोप लगाएका छन्।
बुधबार पुस २३ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पछिल्लो समय पार्टीमा प्रक्रिया र विधानलाई बेवास्ता गर्दै आफूहरूलाई कर्नर गर्ने प्रयास भइरहेको बताए।
उनले भने, “नेपाली कांग्रेस पार्टीभित्र पछिल्लो समयमा प्रक्रिया र विधान निल्दै जाने क्रममा म र अर्का महामन्त्री विश्वप्रकाश शर्मा आफ्नो भूमिका निर्वाह गरिरहँदा हामीविरुद्ध सबै मिलेर घेराबन्दी गर्ने काम भएको छ।”
थापाले पार्टी नेतृत्वले संख्याको दम्भ देखाउँदै आफूहरूमाथि प्रहार गरिरहेको आरोपसमेत लगाए। पार्टीभित्र निर्णय प्रक्रियामा विधान र प्रक्रिया कमजोर बनाइँदै गएको उनको भनाइ थियो।
महामन्त्री थापाले पार्टी कार्यालयभित्रको घेराबन्दी सानो भए पनि आम कार्यकर्ता, समर्थक र शुभेच्छुकको घेरा ठूलो रहेको उल्लेख गरे। पार्टी नेतृत्वको कदमका कारण आफूहरूलाई पार्टीको सीमित घेराभन्दा बाहिर, आम नागरिकको ठूलो घेरामा जान बाध्य बनाइएको उनको दाबी थियो।
उनले आम नागरिकले नै पार्टीभित्रको अवस्थाबारे अन्तिम निर्णय गर्ने विश्वाससमेत व्यक्त गरे।










प्रतिक्रिया