Logo

राजनीति

प्रधानमन्त्रीले राजीनामा नमागेको सञ्चारमन्त्री खरेलको दाबी, राजनीतिक गतिविधिमा संलग्न नरहेको स्पष्टोक्ति



काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई राजीनामा दिन निर्देशन दिएको भन्ने समाचारको खण्डन गरेका छन्। उनले आफू कुनै पनि राजनीतिक गतिविधिमा संलग्न नरहेको स्पष्ट पारेका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले ऊर्जा मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री खरेललाई राजीनामा दिन निर्देशन दिएको खबर बाहिरिएको थियो। तर मन्त्री खरेलले प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा माग नगरेको बताएका छन्।

बाह्रखरीसँग कुरा गर्दै खरेलले प्रधानमन्त्रीले ख्यालठट्टाको शैलीमा राजनीति गर्न चाहने भए स्वतन्त्र रहेको कुरा मात्र उल्लेख गरेको बताए। “प्रधानमन्त्रीज्यूले राजीनामा दिनुस् भन्नुभएको होइन,” उनले भने।

उनका अनुसार अहिलेसम्म आफू कुनै राजनीतिक दलमा सक्रिय छैनन् र चुनाव लड्नका लागि राजीनामा दिने निर्णय पनि गरिसकेका छैनन्। “सरकारको तर्फबाट चुनाव गराउनै पर्छ भन्ने पक्षमा छु,” उनले भने, “कुनै पनि राजनीतिक गतिविधिमा संलग्न छैन।”

यता ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङ भने एक–दुई दिनभित्र राजीनामा दिने तयारीमा रहेको उनको निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता र चुनावी सभामा सहभागी हुने तयारीमा छन्।

रास्वपाका सभापति रवि लामिछाने र मन्त्री घिसिङबीच भएको वार्ता तथा सहमतिमा खेलकुद मन्त्री बब्लु गुप्ताको पनि सहभागिता रहेको स्रोतको दाबी छ। मन्त्री गुप्ता पनि आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ।

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  १ : १० बजे