काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीलाई सम्मान गरेको छ।
काठमाडौँमा आयोजित विशेष समारोहमा ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष ढकालसहित सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रूपमा खादा र सम्मानपत्र प्रदान गरेका थिए।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले बैंकले मर्जर तथा व्यवसाय विस्तारसँगै सेवा गुणस्तर अभिवृद्धि र प्रविधिमैत्री बैंकिङ सेवामा जोड दिएको बताए। उनले ग्लोबल आइएमई बैंक स्थापनाको १९ वर्षमै अधिकांश वित्तीय सूचकमा अब्बल बन्न सफल भएको उल्लेख गरे।
प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले डिजिटल युगअनुकूल नवीन र ग्राहकमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए। नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आगामी दिनमा ग्राहक सेवा र सन्तुष्टिलाई केन्द्रमा राख्दै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘बेष्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेष्ट इम्प्लोयर’ लगायतका अवार्डबाट सम्मानित भइसकेको छ।
बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनबाट रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएको छ।










प्रतिक्रिया