काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः एकवर्षे अवधिको २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘घ’’ शीर्षकमा निष्कासन हुने यस ऋणपत्रको बोलकबोल मंगलबार (पुस २२) दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत हुनेछ ।
राष्ट्र बैंकका अनुसार ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ । यसको सावाँ २०८३ पुस २२ गते भुक्तानी हुने छ भने ब्याज अर्धवार्षिक रूपमा प्रदान गरिनेछ ।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन् । सहभागी संस्थाहरूले न्यूनतम पाँच करोड रुपैयाँदेखि अधिकतम कुल आह्वान रकमसम्म, पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ ।
स्वीकृत बोल रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा गणना गरिनेछ । तर उक्त रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा समावेश गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ । यद्यपि, राष्ट्र बैंकको निर्देशनअनुसार कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने उक्त रकम गणना गर्न सकिनेछ ।
ऋणपत्रको परिपक्व मितिअघि रकम फिर्ता नहुने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
यसअघि राष्ट्र बैंकले पुस १४, १६ र २० गते क्रमशः ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘क’, ‘ख’ र ‘ग’’ शीर्षकमा एक–एकवर्षे अवधिका २५–२५ अर्ब रुपैयाँका ऋणपत्र निष्कासन गरिसकेको छ ।
२२ पुस २०८२, मंगलबार
115
Shares








प्रतिक्रिया