काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन आगामी पुस २६ र २७ गते ललितपुरमा आयोजना हुने भएको छ।
महासंघको गत मंसिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा महाधिवेशन ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासंघले जनाएको छ। कार्यक्रम दुवै दिन बिहान ८ बजेदेखि सुरु हुनेछ।
महासंघले उक्त कार्यक्रममा पदाधिकारी, प्रतिनिधि तथा सम्बन्धित सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ ।
साधारणसभा तथा महाधिवेशनमार्फत संगठनले हालसम्म गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना र नयाँ नेतृत्व चयनसम्बन्धी विषयमा छलफल हुने महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिए ।
यसैबीच महासंघको कार्यसमितिको अर्को बैठक पुस २५ गते बिहान ८ बजे महासंघको कार्यकक्षमा बस्ने जानकारी पनि दिइएको छ। उक्त बैठकमा महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
साधारणसभा तथा महाधिवेशनलाई सफल बनाउन महासंघले सबै सदस्यहरूलाई उपस्थितिका लागि आग्रह गरेको छ ।










प्रतिक्रिया