काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमवारबाट ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ नक्सालमा सुरु भएको छ ।
कार्यशालाको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भिडियो आर्ट इन्स्टलेसनको पृष्ठभूमि तथा यस कलाको विगत, वर्तमान तथा भविष्यसँगको तादात्म्यबारे प्रकाश पारेका छन् ।
उनले भिडियो आर्ट इन्स्टलेसनमा यसको कन्टेन्ट, कन्सेप्ट, टुल्स तथा टेक्निकको विषयबारे बोल्दै सामाजिक रूपान्तरणका लागि यो कलाको सौन्दर्यशास्त्र तथा सौन्दर्य कलाको संयोजन गरी कल्चरल गाइडलाइनका आधारमा कला सिर्जना हुनपर्ने बताए ।
प्रतिष्ठानका बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले कार्यशाला विशेष रहेको र कार्यशालामा सहभागीलाई यसको कन्सेप्टका बारेमा ध्यान दिन आग्रह गरेका छन् । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिँदै जाने बताए ।
कार्यक्रमका सहजकर्ता प्राज्ञ जुपिटर प्रधानले भिडियो आर्ट इन्स्टलेसनको विश्व ऐतिहासिक पृष्ठभूमि तथा नेपालमा यस कलाको सुरुवात सन् १९८७ मा फस्र्ट एनिमेसन आर्ट वर्कसपसँगै भएको र तत्पश्चात् यसको चरणबद्ध विकासको विस्तृत व्याख्या गर्दै कार्यशालामा सहभागी कलाकारहरूलाई भिडियो आर्ट इन्स्टलेसनसम्बन्धीे प्राविधिक ज्ञान तथा कन्सेप्ट डेभलोपमेन्टलगायतका विषयमा जानकारी दिए ।
शुक्रवारसम्म चल्ने कार्यशालामा डिभा लिम्बु, सविना तामाङ, सरिना लामिछाने, करिमा जोशी, सुशीला मुक्तान, क्रिस्टोफरमान सिंहले सहभागिता जनाएको छ । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, कलाकार, पत्रकारलगायतको सहभागिता रहेको थियो ।
२१ पुस २०८२, सोमबार
115
Shares









प्रतिक्रिया