Logo

समाचार

रेशम उद्योगबाट देशको जीडीपीमा राम्रो आम्दानीको सम्भावना छ : अध्यक्ष पोखरेल



काठमाडौं । ह्यान्डलूम फेब्रिक्स मेकर्स अफ नेपालका अध्यक्ष रोशन कुमार पोखरेलले रेशम उद्योगबाट देशको जीडीपीमा ५ खर्ब वार्षिक आम्दानी गर्न सकिने सम्भावना रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले २२ हजार हेक्टर जमिनमा किम्बु खेती गर्ने र त्यसलाई राम्रो तरिकाले व्यवस्थापन गर्ने हो भने देशले जीडीपीमा ५ खर्ब वार्षिक आम्दानी पाउने अनुसन्धानबाट देखिएको बताए ।
उनले भने, ‘नेपालमा रेशमको सम्भावना कस्तो छ भन्ने बारेमा छलफल गर्दा एकदमै धेरै सम्भावना देखिन्छ । यदि हामीले २२ हजार हेक्टर जमिनमा किम्बु खेती गर्ने हो र त्यसलाई राम्रो तरिकाले व्यवस्थापन गर्ने हो भने देशले जीडीपीमा ५ खर्ब वार्षिक आम्दानी पाउने देखिन्छ । हाम्रो अनुसन्धानबाट निस्किएको निष्कर्ष पनि यही हो ।’
रेशम विश्वव्यापी रूपमा उच्चतम मूल्यको कृषि–औद्योगिक उत्पादनहरू मध्ये एक रहेको भन्दै रेशम कपडा र पोशाक मार्फत वार्षिक रूपमा निकै फाइदा लिन सकिने पनि उनको भनाई छ ।
यस्तै उनले उपयुक्त भूमि, अनुकूल हावापानी, उपलब्ध श्रम र समृद्ध ह्यान्डलूम परम्पराका बाबजुद पनि नेपालमा आज रेशम उद्योग सक्रिय नभएको भन्दै खण्डित नीति, लगानीको अभाव, पुरानो प्रविधि र कमजोर बजार सम्बन्धका कारण देशले रेशम धागो र कपडा आयात गर्न बाध्य भएको बताए ।
साथै, उनले नेपाललाई ग्रामीण रोजगारी, युवा र महिला नेतृत्वको जीविकोपार्जन, आयात प्रतिस्थापन र निर्यात विविधीकरणको तत्काल आवश्यकता रहेको उल्लेख गर्दै रेशमले यी सबै प्राथमिकताहरूको रणनीतिक समाधान प्रदान गर्न सक्ने बताए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : ३६ बजे