Logo

Breaking News 1

भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक छ : महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संयुक्त राष्ट्रसङ्घलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्नेगरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसङ्घको वडापत्रको ठाडो उल्लङ्घन भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्नेगरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन हो । यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन ।’

यस्तै, उनले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको पनि उल्लेख गरेका छन् ।

उनले भने, ‘भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ । यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ ।’

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  १२ : ०६ बजे