काठमाडौं । अखिल नेपाल फुटबल संघ ( एन्फा )को महासचिव किरण राईले संघले गरेको अर्ली इलेक्सनमा जाने निर्णय अवैधानिक नभएको स्पष्ट पारेका छन् । शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले कार्यसमितिले आफ्नो कार्य अवधिलाई घटाएर अगाडि नै निर्वाचन गर्छु भन्नु अवैधानिक नरहेको बताए ।
उनले भने,‘विधानमा चाँही चार वर्ष नै छ । यदी त्यस्तो अवस्था आयो भने चार वर्षभन्दा ६ महिना थप गर्न सक्छौं है भन्ने व्यवस्था विधानमा छ । त्यसैले कार्यसमितिले आफ्नो कार्य अवधिलाई घटाएर अगाडि नै निर्वाचन गर्छु भन्नु अवैधानिक हुँदैन । कार्यसमितिले अर्को कुनै कमिटी या संस्थाको अरु कसैको कार्यअवधि घटाएको भए मार पारेको अन्याय गरेको हुन्थ्यो । तर यो घटाउने निर्णय गर्ने अधिकार छ ।’
त्यस्तै उनले कार्यसमितिका बहुसंख्यक सदस्यको मतको आधारमा अर्ली इलेक्सनको निर्णय भएको भन्दै जसरी पनि निर्णय लागू हुने बताए । संस्थागत निर्णयको अगाडि व्यक्तिगत निर्णय कार्यान्वयन हुन नसक्ने भन्दै उनले बहुमतको निर्णय फरक मत भएकाहरुले पनि स्वीकार्नु पर्ने धारणा राखे ।
‘यदी कार्यसमितिमा यो बहुसंख्यक सदस्यले ठिक छ नभनेको भए यो निर्णय लागू हुन सक्दैनथ्यो । यो संस्थागत निर्णय भइसकेको छ । संस्थागत निर्णयको अगाडि व्यक्तिगत निर्णय या असन्तुष्टि कार्यान्वयन हुन सक्दैन । यो बहुमतको निर्णय फरक मत भएका साथिहरुले पनि स्वीकार्नुपर्छ,’उनले भने ।
वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल २०८३ असार ५ गते सकिने छ । तर एन्फाले आगामी माघ २८ गते झापामा करिब ५ महिना अघि नै कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरिसकेको छ,जसको कारण आलोचना बढीरहेको छ ।










प्रतिक्रिया