Logo

Breaking News 1

प्राडा बाबुराम शर्मा पोखरेलका दुई कृति सार्वजनिक



काठमाडौं । प्राध्यापक डाक्टर बाबुराम शर्मा पोखरेलका दुई कृतिहरू हिमवत्खण्डको समीक्षात्मक अध्ययन र स्तुति पुष्पाञ्जली सार्वजनिक भएका छन् । डा. पोखरेलका हिमवत्खण्डको समीक्षात्मक अध्ययनको नेपाली भाषामा अनुवादसहित तथा स्तुति पुष्पाञ्जली संशोधनसहित दोस्रो संस्करण सार्वजनिक भएको हो ।

प्राडा वासुदेव त्रिपाठी, प्राडा विद्यानाथ उपाध्याय, प्राडा प्राडा जीवेन्द्रदेव गिरी र प्रा नीलमणि ढुङ्गाना, प्रा केदार न्यौपाने र डा दिनेशचन्द्र पोखरेलले संयुक्त रूपमा पुस्तक शनिबार भएको विशेष कार्यक्रममा सार्वजनिक गरे । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका पुराण विभागका संस्थापक डा पोखरेलको निधनको ११ वर्षपछि उनका छोरा पूर्व प्रहरी महानिरीक्षक एवं वरिष्ठ चिकित्सक दिनेशचन्द्र पोखरेलले पुस्तक प्रकाशन गरेका हुन् ।

डा पोखरेलले पीएचडी गर्दाको विषयलाई संस्कृतमा लेखेको उक्त अनुसन्धानलाई प्रा नीलमणि ढुङ्गानाले नेपाली भाषामासमेत अनुवाद गरी उक्त पुस्तक प्रकाशित गरिएको हो । पुराणहरूमध्ये स्कन्द पुराणमा ८१ हजार स्लोक रहेको र त्यसको उपपुराणमा ५० खण्ड रहेकोमध्ये एक खण्ड हिमवतखण्ड रहेको ढुङ्गानाले बताए । कार्यक्रममा प्राडा त्रिपाठीले नेपालमा पुराणका प्रवर्तक नै प्राडा पोखरेल रहेको उल्लेख गर्दै हिमवतखण्डमा मूलरूपमा नेपाल खण्ड पाइने उल्लेख गरे ।

प्राडा उपाध्यायले पुराणको शिक्षाले जीवन जगत् अगाडि बढाउन र मार्गदर्शन गर्न मद्धत मिल्ने भन्दै प्राडा पोखरेल पुराण इतिहासको स्तम्भ भएको बताए । साथै स्तुति पुष्पाञ्जलीले स्तुति गर्न सिकाउने उनले बताए । वक्ताहरू प्राडा गिरी, प्रा न्यौपानेले यो पुस्तकले प्राचिन विषयको अध्ययन गर्न चाहनेहरूका लागि यो पुस्तक निकै नै महत्वपूर्ण रहेको बताए ।

पञ्चकुमारी सामाजिक गुठीको आयोजना तथा भरोसा अस्पतालको सहआयोजनामा भएको कार्यक्रममा लेखक पोखरेलका पुत्र डा पोखरेलले पिताको अर्को पुस्तक अर्को वर्ष प्रकाशित गर्ने बताए । उनले नेपाली साहित्य लेखनमा सम्मानको कमी भएको भन्दै सबैले यथोचित सम्मान पाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ५ : ५४ बजे