Logo

Breaking News 1

सरकार चुनाव सार्ने बहाना खोज्दै छ : मुख्यमन्त्री कँडेल



सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकार फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन् ।

आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै कँडेलले सुरुमा राजनीतिक दलहरूको नाम देखाएर चुनाव सार्न चाहेको भए पनि हाल त्यो सम्भावना हटिसकेको बताए ।

उनले भने पहिला दल देखाइयो तर, अहिले सरकार आफंै अन्यौलमा छ । सरकारको व्यवहारले अझै पनि चुनावप्रति स्पष्ट प्रतिबद्धता नदेखिएको उनको आरोप छ । ‘सरकार चुनाव हुन्छ भन्छ, तर हाम्रो पार्टीका अध्यक्षलाई स्थान हद तोकेर चुनावमा प्रचारप्रसार गर्न वातावरण नै बनाइँदैन भने कसरी चुनाव हुन्छ?’ उनले प्रश्न गरे ।

चुनावी गतिविधिमा अनावश्यक रोक लगाइनु लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत भएको उनको टिप्पणी थियो । मुख्यमन्त्री कँडेलले नेकपा एमाले लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै चुनावको सधैं सम्मान गर्ने र सहभागी हुने स्पष्ट पारे । तर, त्यसका लागि निष्पक्ष, स्वतन्त्र र भयमुक्त चुनावी वातावरण बनाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

उनले संविधानको रक्षा, आन्दोलनको रक्षा र देशका लागि पार्टीले दिएको ऐतिहासिक योगदानको स्मरण गर्दै सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे । ‘नेपालको लोकतान्त्रिक विरासत जोगाइराख्न एमाले एकजुट हुन आवश्यक छ,’ उनले भने ।

प्रकाशित मिति : १९ पुस २०८२, शनिबार  ५ : ४५ बजे