Logo

विश्व

एयर इन्डियाका पाइलट नशा सेवन अवस्थामा ड्युटीमा, क्यानडाली अधिकारीले सुरक्षा उल्लंघन पुष्टि गरे



काठमाडौं – क्यानडाको भ्यानकुभर विमानस्थलमा एयर इन्डियाका एक पाइलट नशा सेवन अवस्थामा ड्युटीमा उपस्थित भएको आरोप लाग्दै गम्भीर सुरक्षा उल्लंघन भएको पुष्टि भएको छ।
क्यानडाको यातायात विभागले २४ डिसेम्बर २०२५ मा एयर इन्डियाका वरिष्ठ अधिकारीहरूलाई पठाएको पत्रमा उल्लेख छ कि २३ डिसेम्बर २०२५ मा भ्यानकुभरबाट भियना जाँदै गरेको उडान एआई–१८६ को पाइलट सौरभ कुमारको दुईपटक श्वास परीक्षण (ब्रेथलाइजर) गर्दा नशा सेवनको पुष्टि भएको थियो। उनलाई तत्काल विमानबाट हटाउन सल्लाह दिइएको थियो।
यातायात विभागका अनुसार यस घटनाले क्यानेडियन एभिएसन रेगुलेसन (सीएआर) ६०२.०२ र ६०२.०३ तथा एयर इन्डियाको विदेशी विमान सञ्चालक प्रमाणपत्र (एफएओसी)का सर्तहरू उल्लंघन गरेको छ। विभागले कारबाहीका लागि आरसीएमपी र ट्रान्सपोर्ट क्यानडालाई जानकारी दिइसकेको छ।
साथै, उडान एआई–३५८ र एआई–३५७ सम्बन्धित सुरक्षा चिन्ताहरू पनि उल्लेख गरिएको छ। डीजीसीएले नोटिसमा पाइलटले प्राविधिक खराबी र प्रणालीगत कमजोरी हुँदाहुँदै विमान स्वीकार गरेको उल्लेख गरेको छ। एआई–३५८ मा ढोकानजिक धुवाँको गन्ध महसुस गरिएको थियो, जसले सुरक्षा जोखिम उत्पन्न गरेको देखिएको छ।
एयर इन्डियाले भनेको छ कि पाइलटलाई उडान अघि हटाइएको थियो र वैकल्पिक पाइलटले उडान सञ्चालन गरेका कारण ढिलाइ भएको थियो। कम्पनीले अनुसन्धान प्रक्रियामा पाइलटलाई ड्युटीबाट हटाएको र उल्लंघन पुष्टि भए कडा अनुशासनात्मक कारबाही गरिने जनाएको छ।
क्यानडाली अधिकारीहरूले एयर इन्डियालाई २६ जनवरीभित्र अनुसन्धानको निष्कर्ष र सुधारात्मक कदमको विस्तृत विवरण पेश गर्न निर्देशन दिएका छन्।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  २ : २३ बजे