Logo

समाचार

राष्ट्रिय तथ्यांक दिवसलाई आधिकारिता प्रदान गर्न जोड



काठमाडौं । नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले तथ्यांक दिवसलाई राष्ट्रिय तथ्यांक दिवसको रुपमा मनाउन आवश्यक रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित तथ्यांक दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले तथ्यांकलाई आधिकारिक मानिएकाले अब दिवसपनि आधिकारिक रुपमा मनाउनुपर्ने बताए ।
उनले भने,‘तथ्यांक दिवसलाई राष्ट्रिय तथ्यांक दिवसको रुपमा मनाउन म आग्रह गर्न चाहन्छु । यसको लागि मैंले गर्नुपर्ने काम के हो त्यो भनिदिनुहोला, म त्यो गर्न तयार छु । तथ्यांकलाई आधिकारिक भनिराखेको छौं । दिवसलाई पनि आधिकारिक तथ्यांक दिवस मनाउनेतिर लागौं ।’
त्यस्तै उनले तथ्यांक केवल प्राविधिक विषय मात्र नभएर समग्र शासकीय सुशासन पक्षको ठूलो पक्ष भएको धारणा राखे । तथ्यांकलाई प्राविधिक भाष्यमात्र मात्र दिएर नहुने भन्दै त्यो सोचलाई परिवर्तन गर्न आवश्यक रहेको उनले बताए ।
मुख्य सचिव अर्यालले तथ्यांक प्रणालीलाई २१ औं शताब्दी सुहाउँदो बनाउनुपर्ने धारणा राखे ।
उनले भने,‘यो प्राविधिक विषय मात्र होइन् । समग्र शासकीय सुशासनको पक्ष हो । त्यसैले यसलाई प्राविधिक भाष्यमात्र मात्र दिएर सुख पाउँदैनौं र त्यस्तो सोचलाई परिवर्तन गर्नुपर्छ । तथ्यांक प्रणाली २१ औं शताब्दी सुहाउँदो होस् हामीले खोजेको त्यति मात्र हो । अनि मात्र खोजेको सबै कुराको सम्बोधन हुन सक्छ’ उनले भने ।
जनगणनाको स्वरुपलाई फरक ढंगबाट हेर्ने जमात आएको भन्दै यसलाई प्रविधिसँग जोड्नु आजको आवश्यकता रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ३ : २९ बजे