Logo

राजनीति

समानुपातिक बन्दसूची सच्याउन आयोगको दलसँग छलफल, पुस २० भित्र त्रुटि सुधारको पत्राचार



काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत पेस भएका बन्दसूचीमा देखिएका त्रुटि सच्याउन राजनीतिक दलका प्रतिनिधिसँग छलफल थालेको छ ।

आयोगले पेस भएका बन्दसूचीको जाँचबुझ गरी समावेशी समूह (क्लष्टर) मिलानलगायत कमजोरी औँल्याउँदै सम्बन्धित दलका प्रतिनिधिलाई पालैपालो बोलाएर छलफल गरिरहेको जनाएको छ । छलफलपछि देखिएका त्रुटि सच्याउन यही पुस २० गते दलहरूलाई औपचारिक पत्राचार गरिने आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बुधबार १२ राजनीतिक दलसँग छलफल भएको छ भने आज थप १२ दलसँग छलफल गर्ने तालिका छ ।

आयोगमा पुस १३ र १४ गते ६४ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची पेस गरेका थिए । तीमध्ये २२ दलले मात्र ११० वटै स्थानमा उम्मेदवारी मनोनयन गरेका छन् । आयोगका अनुसार औसत प्रतिनिर्वाचन चिह्नमा उम्मेदवारी दिने दलको संख्या ६० छ । न्यूनतम ११ स्थानमा बन्दसूची पेस गर्ने दल १० रहेका छन् भने एकल चिह्न लिएका दलको संख्या पनि १० रहेको छ ।

यस प्रणालीअन्तर्गत उम्मेदवारी दिन ९३ राजनीतिक दलले आवेदन दिए पनि ६४ दलले मात्र बन्दसूची पेस गरेका छन् । आयोगले पुस २१ देखि २७ गतेसम्म दललाई पेस भएको विवरण मिलाउन समय दिनेछ । त्यसपछि पुस २८ देखि माघ ३ गतेसम्म सच्याइएका बन्दसूचीको जाँच गरिने र माघ २० गते अन्तिम सूची सार्वजनिक गरिने सहायक प्रवक्ता जिसीले जानकारी दिए ।

समानुपातिक प्रणालीको निर्वाचन व्यवस्थापनका लागि आयोगअन्तर्गत स्थापित निर्वाचन अधिकृतको कार्यालयमा तथ्यांक, प्रविधि र कानुनी क्षेत्रका विज्ञहरू कार्यरत रहेका छन् ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  २ : ५९ बजे