Logo

मुख्य समाचार

काठमाडौं उपत्यकाः घरभित्र र बाहिर नै जोखिम, सरकारको आश नगरौं, जनता आफैं बनौं सुरक्षित !



काठमाडौं। उपत्यकाः घरभित्र र बाहिर नै जोखिम, सरकारको आश नगरौं, जनता आफैं बनौं सुरक्षित ! कानुनमा स्पष्ट लेखिएको छ,‘माटो परीक्षण गरेर मात्र भवन बनाउन पाउने ।’ निजी, सरकारी वा व्यापारिक भवनकै हकमा यो नियम लागू हुन्छ । माटो कस्तो छ ? कमशल छ कि घर बनाउन लायक ? सरकारी इञ्जिनियरले चेकजाँच गरेर रिपोर्ट दिएपछि मात्र घर बनाउन पाइन्छ ।

तर, भूमाफियाहरुले डाँडाकाँडा सम्याएर, तालपोखरी र खाल्डोमा माटो भरेर बेचिरहेका छन् । रोचक प्रसंग त के भने, सरकारी संयन्त्र वडा कार्यालय र नगरपालिकाले माटो पुरेर घडेरी बनाइएको ठाउँमा पनि भवन बनाउन भटाभट नक्सा पास गरिरहेको छ । यस्तो कमशल जमिनमा पाँच तलादेखि १९ तलासम्मको घर ठड्याइएको छ ।

त्योपनि एक आनादेखि पाँच आना जमिनमा । २०७२ वैशाख १२ गते भूकम्प आयो । आफ्नै घरले किचेर धेरैको ज्यान भयो । तीनतिर घरले घेरिएको हुनाले धेरैले भाग्ने मौका नै पाएनन् । जेनजीले भदौ २३ र २४ गते देशव्यापी प्रदर्शन गर्यो । भाटभटेनीमा आगो लगाइयो ।

तल आगो झोसिएकोमा माथिल्लो तलामा भएकाहरु भाग्न सकेनन् । जसका कारण उनीहरु त्यहीँ जलेर मरे । डेढ दर्जन बढीको मृत्यु भएकोमा कतिपयको अहिलेसम्म पनि शव पहिचान हुन सकेको छैन । उनीहरुको कंकाल मात्र फेला परेको थियो । नक्सालको नारायणचौरस्थित जलेको भाटभटेनी भत्काउन खोज्दा अर्को मानवीय क्षति भयो ।

एक जना मजदुरको मृत्यु भयो भने दर्जनौं घाइते भए । भाटभटेनी भत्काउने क्रममा भवन नै व्यक्तिमाथि खसेको थियो । ठूला घरमा रंग लगाउने क्रममा कामदारहरु खसेर मरेको उदाहरण छ । एउटा सरकारी अस्पतालमा रंग लगाउँदै गर्दा डोरी चुटिट्एर दुई युवकको ज्यान गएको थियो ।

नेकपाका नेता माधवकुमार नेपालका भाइ केही वर्षअघि एउटा होटलको छतबाट हाम्फालेका थिए । उनको निधन भयो । ऋण तिर्न नसक्दा एक व्यापारीले आफ्नै घरको छतबाट हाम्फालेर ज्यान दिएका थिए । पछिल्लो समय अग्ला घर मृत्युको मार्ग बनिरहेको छ ।

प्रेममा असफल भयो, घरबाट हाम्फाल्ने । घर झगडा पर्यो, हाम्फालेर ज्यान दिने । ऋण तिर्न सकेन, घरबाटै हाम्फालेर मर्यो । काम गर्ने क्रममा पनि मजदुरहरु त्यस्ता भवनबाट लड्दा ज्यान गएको छ । जेनजी आन्दोलनमा जलेको हिल्टन होटल भत्काउने क्रम जारी छ । तर, एकदमै जोखिमपूर्ण तरिकाले भवन भत्काइएको अवस्था छ ।

मजदुरहरुले आफ्नै ज्यानको बाजी राखेर भवन भत्काइरहेका छन् । उनीहरु त्यहाँबाट खसे भने आय्या पनि भन्न पाउँदैनन् । अहिले जताततै जोखिम छ । तीनतिर जोडिएको घरले पहिल्यै जोखिम भएकोमा जेनजी आन्दोलनपछि झनै जोखिम थपिएको छ । आन्दोलनमा बलेको घरहरु जताततै छ ।

सानो भुइँचालो आउँदा पनि ती घर ढल्ने सम्भावना अत्याधिक छ । २०७२ सालको भूकम्पमा हल्लिएको, चर्किएको घरहरुमा घरधनीले रंगरोगन र टालटुल गरेर बसिरहेका छन् । भाडामा पनि लगाइएको छ । अपार्टमेण्टको हकमा पनि त्यस्तै हो । घरधनीले आफ्नो कालको पासो आफैं थापिरहेको अवस्था छ ।

उपत्यकाभित्र खाली जमिन कहीँ छैन । घरैघर र बाटो मात्र छ । बिरामी हुँदाखेरि एउटा एम्बुलेन्स छिर्न सक्ने बाटो छैन । ट्याक्सीसमेत नछिर्ने बाटोमा आगो लाग्दा दमकल कसरी छिर्ने ? यस्तो ठाउँमा स्थानीय पालिकाले जनतालाई राखिरहेको छ । प्रत्येक घरमा ग्याँस र बत्ती छ । यी दुवै जोखिमपूर्ण वस्तु हुन्, जुन नभई कामै छैन ।

तर, कतिखेर ग्याँस पड्किन्छ वा बिजुली सर्ट भएर आगजनी हुन्छ, ठेगान छैन । कबाडी गोदाम घनाबस्तीभित्र छ । पेट्रोल पम्प घरहरुको बीचमा छ । थोरै जमिनमा पेट्रोल पम्प सञ्चालन भएको छ । ग्याँसको डिपो घरघरमा छ । यसले कुन बेला कुनचाँहि दुर्घटना निम्त्याउँछ ? भनेर डराईडराई बाँच्नुपर्ने बाध्यता छ ।

केही महिनाअगाडि वसन्तपुरनजिकै रहेको एक मन्दिर छेउको गोदाममा आगजनी भयो । त्यो आगो मन्दिरसम्म पुग्यो । महानगरलाई सो आगो नियन्त्रणमा लिन हम्मेहम्मे पर्यो । उपत्यकामा दैनिक सवारी दुर्घटनामा परेर दिनहुँ दर्जन बढीको ज्यान जान् । देशभरको तथ्यांक हेर्ने हो भने सवारी दुर्घटना र ज्यान गुमाउनेको संख्या उच्च छ ।

पहाडमा मान्छेहरु घाँस काट्न जाँदा भीरबाट खसेर वा खोलाले बगाएर मर्थें । मधेशमा सर्पले टोकेर धेरैको ज्यान जान्थ्यो । तर, अहिले मधेश र पहाडभन्दा पनि उपत्यका जोखिमपूर्ण बनेको छ । यहाँ छिसिक्क मात्र केही भयो भने धेरै मानवीय र भौतिक क्षति हुन सक्छ ।

किन कि अन्तर्राष्ट्रिय एअरपोर्ट यहीँ छ । इन्धनको डिपो पनि उपत्यकामै छ । जताततै घर र अग्ला भवन छन् । उपत्यका अव्यवस्थित शहर बनेको छ । जसका कारण यसले जोखिम निम्त्याएको छ । काठमाडौं महानगरका तत्कालीन मेयर पिएल सिंहले आफ्नो नगर क्षेत्रभित्र प्लानिङ गर्न रोकेका थिए ।

जथाभावी जग्गा प्लानिङ गर्दा उपत्यका अस्तव्यस्त हुन्छ, गाउँ रित्तिन्छ भन्ने उनको धारणा थियो । तर, उनी हटेर केशव स्थापित आउनेबित्तिकै भूमाफियाहरुको दिन खुल्यो । स्थापितले व्यक्तिगत स्वार्थ हेरेर धमाधम जग्गा प्लानिङ गर्दा दिए । भूमाफियाले एक हजार रुपैयाँमा बिक्री नहुने जग्गा टुक्राटुक्रा पारेर आनाकै लाखौंमा बेचे ।

जग्गाको भाउ महँगो भएपछि सरकारी, सार्वजनिक, गुठी, डाँडाकाँडा, खोलानाला सबै सकाइयो । सरकारी सम्पत्ति भूमाफियालाई देख्नै नहुने । काठमाडौंमा कतिबेला के हुन्छ ? थाहा हुँदैन । घरभित्र बसेपनि सुःख छैन, बाहिर गएपनि । घरभित्र बस्यो, कतिबेला भूइँचालो आउँछ थाहा हुँदैन ।

ग्याँस पड्केर र बिजुली सर्ट भएर कतिबेला अकालमा ज्यान फाल्नुपर्छ टुंगो छैन । बाहिर निस्कियो, गाडीले हानेर मार्छ । काठमाडौं एकदमै जोखिमपूर्ण ठाउँ बन्यो । २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भयो । काठमाडौंको मेयरमा बालेन साह निर्वाचित भए । उनी पेशाले इञ्जिनियर हुन् ।

तर, उनी काठमाडौंलाई व्यवस्थित शहर बनाउन चुके । काम गर्न क्षमता नभएका उनी अहिले प्रधानमन्त्री बन्ने दौडमा छन् । उनले मेयरमा निर्वाचित भएपछि के गरे ? फेसबुकमा भड्काउपूर्ण स्ट्याट्स लेखे, बसे । आफ्नै नगरभित्रको ऐतिहासिक सम्पदा सिंहदरबार जलाउँछु भनेर चेतावनी दिए ।

आज वास्तवमै सिंहदरबार जलेको छ । यस्तो व्यक्ति प्रधानमन्त्री भयो भने देशको अवस्था के हुन्छ ? उनी लागूऔषध सेवन गर्छन् भनिन्छ । एउटै पाटीमा सहकारी ठग, लागुऔषध सेवनकर्ता र सरकारी सम्पत्तिको दोहनकर्ता । देश सकाउनलाई योभन्दा अरु के नै चाहियो । मान्छेलाई अकालमा ज्यान फाल्नु छ भने उपत्यकाभित्र बसौं ।

मान्छेको जीवन एकजुनीको हो । मरेपछि जन्मेको इतिहास छैन । त्यसैले आफ्नो ज्यानसँग ख्यालख्याल नगरौं । यो जोखिमपूर्ण स्थल छोड्दै जाऔं । नत्र ज्यान नै खतरामा पर्न सक्छ । किन कि सरकारले ज्यानको सुरक्षा गरिदिन्छ भनेर कसैले कल्पना गरे हुन्छ । आफ्नो ज्यानको सुरक्षा आफ्रैंले गर्ने हो ।

आफू पनि बचौं, आफ्नो परिवार पनि बचौं । उपत्यकामै बस्नुपर्छ भन्ने छैन । त्यसैले जनता सचेत होऔं । भनिन्छ नि,‘आफू रहे मात्र संसार रहन्छ ।’

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १२ : ४६ बजे