Logo

समाचार

ग्यास बुलेट दुर्घटनाका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, खुलाउन अझै समय लाग्ने



रौतहट । एलपी ग्यास बोकेको बुलेट दुर्घटना भएपछि मंगलबार बिहानदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडक खण्डअन्तर्गत लमाह पुल नजिक दुर्घटना हुँदा राजमार्ग पूर्ण रूपमा बन्द भएको हो ।
भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ ग्यास बोकेर जाँदै गरेको यूपी १७ ए टी २११४ नम्बरको ट्याङ्कर मंगलबार बिहान करिब ७ः३० बजे दुर्घटनामा परेको थियो । दुर्घटनापछि बुलेटबाट ग्यास लिक भएपछि सुरक्षाका कारण राजमार्ग बन्द गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् ।
उनका अनुसार बिहान ९ बजेदेखि ग्यास कम्पनी तथा नेपाल आयल निगम वीरगञ्ज शाखाका प्राविधिक टोलीले बुलेट हटाउने प्रयास गरिरहेका छन् । छ वटा क्रेन प्रयोग गरिए पनि लिक भएको ग्यास नियन्त्रणमा लिन नसकिएकाले राजमार्ग खुलाउन ढिलाइ भएको प्रहरीले जनाएको छ । प्राविधिक कारणले बुलेट हटाउन अझै केही समय लाग्ने जनाइएको छ ।
दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
राजमार्ग अवरुद्ध भएपछि पूर्वतर्फबाट आएका सवारीसाधन चन्द्रनिगाहपुर क्षेत्रमा रोकिएका छन् । केही सवारीसाधन भने चन्द्रनिगाहपुर–गौर राजमार्ग हुँदै बालचनपुर र जङ्गल सहियाको वैकल्पिक मार्ग प्रयोग गरी करिब ३५ किलोमिटर घुमेर आवतजावत गरिरहेका छन् ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ७ : ५० बजे