Logo

समाचार

कीर्तिपुरको डाँडाबाटै तीन लाख कमाउन सकिन्छ : अर्थमन्त्री खनाल



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण निर्माण र आन्तरिक लगानी प्रवर्द्धनका लागि नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताएका छन्।
मंगलबार (पुस १५) राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही निःसर्त उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए। आईटी क्षेत्रमा संलग्न व्यवसायीले आफ्नो ज्ञान र सीप प्रयोग गरी विदेशी पुँजी भित्र्याउन सहज बनाउने उद्देश्यले यो व्यवस्था गरिएको उनले बताए।
उनका अनुसार विदेशमा रहेका नेपाली नागरिक स्वदेशमै फर्केर पनि सोही प्रकृतिको काम र समान पारिश्रमिकमा काम गर्न सक्ने वातावरण निर्माण आवश्यक छ। नेपालबाटै रिमोट वर्कमार्फत विदेशी मुद्रा आर्जन गर्न सक्ने युवाहरूको मागलाई राज्यले लामो समयसम्म गम्भीर रूपमा नबुझेको पनि उनले स्वीकार गरे।
मन्त्री खनालले विद्यमान कानुनलाई अध्यादेशमार्फत संशोधन गर्नु उपयुक्त नठानेको उल्लेख गर्दै सामान्य नीति तथा नियममा आवश्यक संशोधन गर्ने काम भइरहेको बताए। यस अवधिमा आर्थिक कार्यविधि तथा आर्थिक उत्तरदायित्व नियमावली, भन्सार नियमावली र वन नियमावली संशोधन भइसकेको उनले जानकारी दिए।
कार्यक्रममा मन्त्री खनालले कांग्रेस महामन्त्री गगन थापाले कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख रुपैयाँ कमाउन सकिने भन्ने अभिव्यक्ति वास्तविक र यथार्थपरक रहेको बताए। आईटी र रिमोट वर्कको माध्यमबाट नेपालमै बसेर पनि उल्लेख्य आम्दानी गर्न सकिने सम्भावना रहेको उनको भनाइ थियो।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ७ : ०७ बजे