काठमाडौं । गुरुङ (तमु) समुदायको नयाँ वर्षका रूपमा मनाइने पर्व तमु ल्होसार देशभर विविध कार्यक्रमका साथ हर्षोल्लासपूर्वक मनाइँदैछ । हरेक वर्ष पुष १५ गते मनाइने यस पर्वले तमु समुदायको सांस्कृतिक पहिचान, ऐक्यबद्धता र परम्परागत मूल्य–मान्यतालाई उजागर गर्ने गर्दछ ।
तमु ल्होसारको अवसरमा गुरुङ समुदायले बिहानैदेखि घरघरमा पूजा–आराधना गर्दै नयाँ वर्षको स्वागत गरेका छन् । परम्परागत भेषभूषा लगाएर समुदायका सदस्यहरू सांस्कृतिक कार्यक्रममा सहभागी भएका छन् ।
विशेषगरी काठमाडौं, पोखरा, चितवन, लमजुङ, कास्की, स्याङ्जा, गोरखा लगायतका जिल्लामा विविध सांस्कृतिक झाँकी, नाचगान र शुभकामना आदान–प्रदान भइरहेका छन् ।
यस अवसरमा प्रस्तुत गरिने सोरठी र घाँटु नृत्यले तमु समुदायको मौलिक कला र संस्कृतिलाई झल्काउने गर्दछ । साथै, पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षमा सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ ।
तमु ल्होसारले समुदायबीच आपसी सद्भाव र सामाजिक एकतालाई मजबुत बनाउनुका साथै भावी पुस्तामा भाषा, संस्कृति र पहिचान संरक्षणप्रति चेतना फैलाउने विश्वास लिइन्छ । पर्वका अवसरमा विभिन्न संघ–संस्था तथा राजनीतिक दलका नेताहरूले समेत शुभकामना सन्देश जारी गरेका छन् ।
यसैबीच, तमु ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यस पर्वले नेपाली समाजको बहुसांस्कृतिक विशेषतालाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
यसै सन्दर्भमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय उपाध्यक्ष श्रीप्रसाद गुरुङले तमू ल्होसार गुरुङ समुदायको सांस्कृतिक तथा धार्मिक पहिचान बोकेको महत्वपूर्ण पर्व भएको बताए ।
उनका अनुसार बर्खाभरको दुःख, परिश्रमपछि धान, कोदो, मकैजस्ता अन्नबाली भित्र्याएपछि एकै ठाउँमा भेला भइ रमाइलो गर्दै खाने चलनलाई गुरुङ समुदायमा ‘स्योकै’ भनिन्छ । ‘जसको घरमा जे पाक्छ, त्यही लिएर सबै एकै ठाउँमा बसेर खाने परम्परा नै स्योकै हो’ उनले भने, ‘यसैले ल्होसार केवल चाड मात्र नभई सामाजिक एकता र संस्कृतिको प्रतीक पनि हो ।’
श्रीप्रसाद गुरुङले काठमाडौंमा १५–२० वर्षअघि गुरुङ युवायुवतीहरूलाई आफ्नो परम्परागत भेषभूषा लगाउन अप्ठ्यारो महसुस हुने अवस्था रहेको स्मरण गरे । हाल काठमाडौंका गल्ली–गल्ली र टोल–टोलमा साना बालबालिकादेखि वृद्धसम्मले गर्वका साथ आफ्नो सांस्कृतिक भेषभूषा लगाउने गरेको उनले बताए । गुरुङ पोसाक लगाउनेको संख्या दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै उनले भाषा संरक्षण र लिपि प्रवद्र्धनमा पनि निरन्तर काम भइरहेको जानकारी दिए ।
उनले भने, ‘काठमाडौँमा आज भन्दा १५–२० वर्ष अगाडि युवायुवतीहरुलाई गुरुङ ड्रेस लाएर हिड्न पनि अप्ठ्यारो लाग्थ्यो । गुरुङ ड्रेस लाएर हिड्दा कहाँ जाने हो ? कुन रोधीमा जाने हो ? भन्ने खाले केही प्रश्नहरु उठ्थ्यो । अहिले त्यो अवस्था छैन् । काठमाडौँको गल्ली गल्लीमा टोल टोलमा वालवालिकादेखि बुढापाका सबैले आफ्नो सांस्कृतिक भेषभुषा लगाउनुहुन्छ । आफ्नो भेषभुषा लगाउनेको संख्या दिन प्रतिदिन बढ्दै छ । भाषागत संरक्षण, आफ्नो लिपिको प्रबर्धन गरिराखेका छौ।’
६०–७० दशकतिरको पुस्ताको ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई परम्परा, संस्कार र संस्कृतिबारे सिकाउनुपर्ने आवश्यकता औंल्याए । ‘आफ्नो जात, संस्कार र संस्कृतिप्रति माया बढोस् र उनीहरूले आर्जन गरेको सीप तथा ज्ञान समुदाय र संस्थाको संरक्षणमा उपयोग होस् भन्ने उद्देश्यले हामी काम गरिरहेका छौं,’उनले भने ।
उनका अनुसार हराउँदै गएका केही संस्कार र परम्परालाई पुनर्निर्माण गर्दै चुनौतीलाई अवसरमा बदल्ने योजना अघि सारिएको छ र त्यसअनुसार काम पनि भइरहेको छ । उनले भने, ‘६०–७० तिरको जेनेरेसनको ठूलो जिम्मेवारी छ । हामीभन्दा सानो पुस्तालाई कसरी परम्परागत, संस्कार संस्कृतिको विषयमा सिकाउन, संस्कार, संस्कृति आफ्नो जातप्रतिको एउटा माया बढोस र उनीहरुले सिकेको सीपहरुल आफ्नो संस्कार संस्था जोगाउनमा उपयोग होस् भनेर काम गरिरहेका छौ ।’
‘चुनौतीलाई अवसरमा बदलेर केही चिजहरु लोभ हुँदै गएको थियो । त्यसलाई फेरि पुनर्निर्माण गर्दै अगाडि लाने योजनाहरु हामी सारिरहेका छौं अनि काम पनि भइरहेको छ,’ उनले अगाडि भने ।
उनले सोमबार ग्रह शान्तिको पूजा सुरु गरेर राति १२ बजेसम्म जाने लो अथवा सर्प वर्गलाई विदाई गर्ने पुजा हुन्छ भने १२ बजे पछाडि घोडा अथवा ताल होलाई स्वागत गर्ने पुजा हुने बताए ।
उनले भने, ‘हिजोको दिनबाट तमु ल्होसार लक्षित कार्यक्रमहरु सुरु भएको हो । आज हाम्रो खेलकुद कार्यक्रमहरु परम्परागत मौलिक खेलकुदहरु ठेलो फाल्ने, डोरी तान्ने अनि दोहोरी गीतहरु हुन्छ भने भरे राति पुरोहित गुरुहरुले पुजा सुरु गर्छन् । ग्रह शान्तिको पूजा सुरु गरेर राति १२ बजेसम्म जाने लो अथवा सप्रिलो अथवा सर्प वर्गलाई विदाई गर्ने पुजा हुन्छ । साथै १२ बजे पछाडि घोडा अथवा ताल होलाई स्वागत गर्ने पुजा हुन्छ ।’
आज ल्होसारको मुख्य दिन भने बिहान १० बजे न्यूरोड बसन्तपुरबाट र्याली सुरु भएर रत्नपार्क हुँदै टुडिखेलभित्र आएर सभा हुने तयारी भएको उनले जानकारी दिए ।










प्रतिक्रिया