Logo

राजनीति

कांग्रेसको समानुपातिक उम्मेदवार सिफारिस: वाग्मतीले २२ सिट पायो



काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची प्रदेशगत जनसंख्याका आधारमा तयार पार्ने प्रक्रिया अगाडि बढाएको छ ।
तयार पारिएको सिफारिसअनुसार सबैभन्दा धेरै सिट वाग्मती प्रदेशले २२ पाएको छ । वाग्मतीपछि मधेस प्रदेशले २१ सिट पाउँदा कोसी प्रदेशले १८ सिट पाएको छ । कोसी प्रदेशको जनसंख्याको आधारमा १८.५ सिट पाउने भए पनि १८ जनाको मात्र नाम सिफारिस गरिएको कोसी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।
सुदूरपश्चिम र कर्णाली प्रदेशले समान रूपमा १०–१० सिट पाएका छन् । यस्तै, १७.५ प्रतिशत जनसंख्या अंश रहेको लुम्बिनी प्रदेशले १७ जनाको नाम मात्र सिफारिस गरेको छ । कोसी र लुम्बिनी दुवैको आधा–आधा अंश भएकाले आवश्यक परे एकतर्फ बढी मिलाउन सक्ने गरी स्थान खुला राखिएको कांग्रेस नेताहरूले बताएका छन् ।
गण्डकी प्रदेशले भने ११ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले प्रदेशगत सिफारिसलाई समेट्दै समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची तयारी गरिरहेको छ ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : ५७ बजे