काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ नयाँ उम्मेदवारलाई प्राथमिकता दिने निर्णय गरेको छ । तर बन्दसूची अझै अन्तिम टुंगोमा पुगेको छैन ।
बुधबारदेखि जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समानुपातिकतर्फको बन्दसूची तयार पार्ने काम जारी छ । यसका लागि पार्टीका पदाधिकारी र कार्यसम्पादन समिति सदस्यहरूलाई प्रदेशगत रूपमा समूह विभाजन गरी छलफल गरिँदै आएको छ । प्रदेशगत छलफलमा केन्द्रबाट तोकिएका पदाधिकारीको नेतृत्वमा प्रदेश सभापतिसहित सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने कार्यसम्पादन समिति सदस्यहरू सहभागी छन् ।
निर्वाचन आयोगले समानुपातिक बन्दसूची पेस गर्न सोमबारसम्मको समयसीमा तोकेको छ । कांग्रेसले समय थप गर्न गरेको आग्रह आयोगले अस्वीकार गरेपछि पार्टी आन्तरिक छलफलमा जुटेको हो ।
सुदूरपश्चिम प्रदेशको सूची तयारीमा संलग्न सहमहामन्त्री बद्री पाण्डेले प्रदेशगत छलफल जारी रहेको बताए । “आकांक्षीहरूको व्यवस्थापन र प्राविधिक मिलानका कारण सूची टुंग्याउन समय लागेको छ,” उनले भने, “समानुपातिकतर्फ नयाँलाई अवसर दिने पार्टीको निर्णयअनुसार काम भइरहेको छ । सम्भवतः भोलिसम्म बन्दसूची तयार हुन सक्छ ।”
पार्टी स्रोतका अनुसार संस्थापन पक्षले प्रदेशगत रूपमा सात नेतालाई जिम्मेवारी दिएर प्रारम्भिक सूची तयार गरेको छ । तर संस्थापनइतर पक्षबाट उम्मेदवारका नाम नआएकाले सूची कार्यसम्पादन समितिमा लैजान नसकिएको संस्थापन पक्षको भनाइ छ ।
“प्रदेशगत छलफलबाट एउटा तयारी भएको छ, तर संस्थापनइतरबाट नाम नआउँदा निर्णय प्रक्रियामा अघि बढ्न सकिएको छैन,” संस्थापन पक्षका एक पदाधिकारीले भने, “६० प्रतिशतको आधारमा मात्र सूची पास गर्न सम्भव छैन ।”
बुधबारदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समिति बैठक बन्दसूची टुंगोमा नपुग्दा अझै जारी छ ।
१३ पुस २०८२, आइतबार
276
Shares








प्रतिक्रिया