काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एउटै राजनीतिक मोर्चामा उभिने सहमति भएको चर्चाले नेपाली राजनीतिमा नयाँ बहस सिर्जना भएको छ ।
सहमतिअनुसार पार्टीको औपचारिक नेतृत्व रवि लामिछानेले गर्ने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सारिने बताइएपछि राजनीतिक वृत्त मात्र होइन, सर्वसाधारण तहमा पनि मिश्रित प्रतिक्रिया देखिएको छ ।
यसै सन्दर्भमा नेपाल न्यूज बैंकले राजधानीमा सर्वसाधारणसँग कुराकानी गर्दा आशा, शंका र आलोचना मिसिएको प्रतिक्रिया दिए । धेरैले यसलाई पूराना दलप्रतिको निराशाबाट जन्मिएको नयाँ राजनीतिक प्रयोगका रूपमा हेरेका छन् भने केहीले स्पष्ट नीति र भिजन नआएसम्म विश्वास गर्न नसकिने बताएका छन् ।
जसमा सर्वसाधारण नागरिक पूर्णप्रसाद सापकोटा पछिल्लो राजनीतिक घटनाक्रमले जनतामा अनिश्चितता र त्रासको भावना पैदा गरेको उनी बताउँछन् । ‘जेन–जी आन्दोलनपछि कहिले के हुन्छ भन्ने डर अझै हटेको छैन,’ उनले भने ।
रवि र बालेनजस्ता युवापुस्ताका नेताहरू एक ठाउँमा आउनु सकारात्मक भएपनि उनीहरूले राष्ट्रलाई कसरी अगाडि लैजाने भन्ने स्पष्ट रोडम्याप सार्वजनिक गर्नुपर्ने उनको धारणा छ । शिक्षा, स्वास्थ्य, रोजगारी र वैदेशिक पलायनजस्ता विषयमा ठोस योजना नआएसम्म जनताको विश्वास पूर्ण रूपमा जित्न गाह्रो हुने उनले बताए ।
उनले भने, ‘दुई वटा युवाहरू मिलेर राष्ट्रलाई आमूल परिवर्तन गर्छु भन्ने हिसाबले मिल्नु सकारात्मक पक्ष हो । तर मिल्दाखेरि त्यसको वैचारिक आधार के हो ? राष्ट्रलाई कुन हिसाबले अगाडि लाने ? सुख, शान्ति र समृद्धि जनतालाई कसरी दिने ? त्यो उहाँहरूको रोडम्यापसहित क्लियर भएर उहाँहरूले काम गर्नुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारका कुराहरु, दिनानुदिन युथहरू विदेशिरहेका छन् । युवाहरूलाई नेपालमा केही रोजगारी सिर्जना गर्ने, रोडम्याप स्पष्ट हुनुपर्यो ।’
उनले विगतका राजनीतिक दलहरूले जनतासमक्ष योजना प्रस्तुत गरेपनि कार्यान्वयन गर्न नसक्दा अहिलेको गन्जागोल अवस्था सिर्जना भएको टिप्पणी गरे ।
‘पाँच वर्षमा के गर्ने, दस वर्षमा देशलाई कहाँ पुर्याउने भन्ने खाका स्पष्ट हुनुपर्छ,’ सापकोटाले भने । साथै, रवि लामिछानेमाथि लागेका विभिन्न कानुनी प्रश्न र बालेन शाहसँग जोडिएका विवादहरूप्रति पनि जनताले ध्यान दिएको उनको भनाइ छ । ‘कमजोरी लुकाउने होइन, स्वीकार गरेर स्पष्ट एजेन्डासहित जनतामाझ जान सके मात्रै यो सहकार्य राष्ट्रका लागि राम्रो हुन सक्छ,’ उनले भने ।
अर्का नागरिक अशोककुमार विकले अहिलेको राजनीतिलाई सत्तामुखी, पपुलिस्ट र भ्रम सिर्जनामा केन्द्रित भएको आरोप लगाए ।
‘जसरी पनि सत्तामा पुग्ने, शासन गर्ने, देश लुट्ने प्रवृत्तिले जनतालाई निराश बनाएको छ,’ उनले भने । रवि र बालेनको सहकार्य पूराना दलभन्दा केही फरक हुनसक्ने आशा त रहेको तर पूर्ण विश्वास गर्न नसकिने उनले बताए ।
उनका अनुसार नेपाल जातीय संरचनामा आधारित समाज भएकाले उत्पीडित समुदायको मुक्तिका लागि नयाँ शक्तिसँग पनि ठोस योजना देखिएको छैन ।
‘यदि नयाँ शक्ति पनि अपेक्षा अनुसार काम गर्न सकेन भने पुराना दलविरुद्ध जस्तै फेरि जनताले यिनैविरुद्ध आवाज उठाउँछन्,’ विकले भने । उनले रवि र बालेन दुवै पपुलिस्ट नेताका रूपमा परिचित रहेको उल्लेख गर्दै पपुलिज्म सत्तामा पुग्ने प्रभावकारी हतियार भएपनि दीर्घकालीन समाधान नभएको धारणा राखे ।
यसैगरी रतन महर्जनले भने रवि–बालेन गठबन्धनप्रति कडा असन्तुष्टि व्यक्त गरे । संविधानको मर्म विपरीत काम भइरहेको आरोप लगाउँदै उनले बालेन शाहले महानगरपालिकाको पाँच वर्षे कार्यकाल पूरा गर्नुपर्ने बताए ।
उनले भने, ‘अब बालेन र रवि मिल्नु कुन ठूलो कुरा हो र त्यो ? एकजना ठगुवा, एकजना लुकुवा । अब रवि जसले नागरिकता ठगेकै हो क्यारे, पासपोर्टको नि ठगेको हो क्यारे, जेल तोडेकै हो क्यारे । जेल भगाउनमा सम्पूर्ण जिम्मा रविले लिनुपर्छ । १५ हजार कैदीहरू भागेका छन् ।’
कार्यकाल नसक्दै अर्को चुनावतर्फ जानु जनमतको अपमान भएको उनको भनाई छ । यसैगरी यसको विपरीत, तिलकबहादुर थापाले रवि र बालेनको सहकार्यप्रति खुशी व्यक्त गरे । पूराना दलहरूले अपेक्षित काम गर्न नसकेको भन्दै उनले नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने बताए ।
उनले भने, ‘म रविकै पक्षको मान्छे पनि हुँ । पहिला पहिला नेताहरूलाई भोट दिएको हो, नदिएको होइन । एमालेले केही गर्न सकेन, कांग्रेसले पनि केही गरेन । अब दिने भनेकै रविलाई हो । अहिले मिल्नुभएको छ । उहाँहरूले मिलेकोमा खुसी छौं ।’
यसैगरी संगीता तिवारीले बालेनले काठमाडौं महानगरमा राम्रो काम गरेको सुनेको बताउँदै अब राष्ट्रिय स्तरमै पनि काम गरेर देखाउनुपर्ने धारणा राखिन् । ‘कुर्सीमा जानुअघि होइन, पुगेपछि काम गरेर देखाउनुपर्छ,’ उनले भनिन् ।
रवि र बालेनको सम्भावित राजनीतिक सहकार्यले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएपनि नागरिकस्तरमा समर्थन र आशंका दुवै देखिएका छन् ।
समग्रमा, रवि र बालेनको सम्भावित राजनीतिक सहकार्यलाई लिएर सर्वसाधारणबीच उत्साह र आशंका दुवै देखिन्छ ।
पूराना दलहरूको असफलताबाट आजित जनताले नयाँ नेतृत्वबाट केही फरक र प्रभावकारी कामको अपेक्षा गरेका छन् । तर स्पष्ट नीति, समावेशी दृष्टिकोण र कार्यान्वयन क्षमताबिना यो सहकार्य पनि केवल अर्को राजनीतिक प्रयोगमा सीमित हुन सक्ने चिन्ता नागरिकहरूले व्यक्त गरेका छन् ।










प्रतिक्रिया