काठमाडौं । सरकारले हरेक वर्ष पुस १५ गतेलाई ‘राष्ट्रिय च्याउ दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रिय च्याउ दिवस मनाउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीका क्रममा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिक नेपाल फर्किएपछि रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेमा श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, बैठकले जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय पनि गरेको छ । साथै, विभिन्न नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरिएको प्रवक्ता खरेलले जानकारी दिए ।
सरकारले कृषि तथा च्याउ व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले पुस १५ लाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको जनाएको छ ।
११ पुस २०८२, शुक्रबार
115
Shares









प्रतिक्रिया