Logo

अर्थ

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा मागभन्दा करिब ३३ गुणा आवेदन



काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक साधारण सेयर (आईपीओ)मा अत्यधिक माग देखिएको छ । सीडीएस एन्ड क्लियरिङ हाउसको तथ्यांकअनुसार आईपीओमा मागभन्दा करिब ३२.९९ गुणा बढी आवेदन परेको हो ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको उक्त आईपीओ पुस ७ गतेदेखि ११ गतेसम्म खुला गरिएको थियो । कम्पनीले सर्वसाधारणका लागि कुल ९ लाख २४ हजार ७६८ कित्ता सेयर निष्कासन गरेकोमा बन्द हुँदासम्म तीन करोड पाँच लाख चार हजार ८०० कित्ताका लागि आवेदन परेको छ । उक्त आवेदन पाँच लाख ८३ हजार ८९६ जना लगानीकर्ताबाट प्राप्त भएको हो ।
आईपीओमार्फत कुल २५ अर्ब तीन करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँ बराबरको रकम संकलन भएको सीडीएससीले जनाएको छ । अत्यधिक मागका कारण अधिकांश आवेदक सेयर प्राप्त गर्नबाट वञ्चित हुने देखिएको छ । सेयर बाँडफाँट गोलाप्रथामार्फत हुने भएकाले सीमित संख्याका लगानीकर्ताले मात्र सेयर पाउनेछन् ।
पहिलो दिनमै आईपीओमा उल्लेख्य आकर्षण देखिएको थियो । पहिलो दिन सोमबार मात्र ५३ लाख ९८ हजार १०० कित्ताका लागि आवेदन परेको थियो, जुन निष्कासित सेयरभन्दा करिब ५.८ गुणा बढी हो । सो दिन एक लाख ९१७ जना लगानीकर्ताले आवेदन दिएका थिए । पहिलो दिनमै चार अर्ब ४३ करोड सात लाख ६० हजार ४८० रुपैयाँ बराबरको आवेदन परेको थियो ।
नेपालको ठूलो रोजगारदाता तथा निर्यातकर्ता कम्पनीमध्ये एक मानिने रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तोकिएको थियो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । न्यूनतम ५० कित्ताका लागि आवेदन गर्दा लगानीकर्ताले कम्तीमा ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : ०५ बजे