काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको प्रमुख समस्या युवाले सही कुरा बुझ्ने, सही आचरण अपनाउने र आफूलाई सही ढङ्गले प्रस्तुत गर्ने विषयसँग जोडिएको बताएका छन् ।
बिहीबार एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले समाजमा गलत प्रवृत्ति बढ्दै गएको उल्लेख गरे । उनले देशका केही चर्चित व्यक्तिहरू नै नशामा भेटिने गरेको भन्दै त्यसलाई सामान्यीकरण गर्न खोजिएकोप्रति चिन्ता व्यक्त गरे ।
उनले भने, ‘आज देशको एउटा के समस्या हो भने युवाहरुले ठिक कुरा बुझ्नु, ठिक आचरण गर्नु र ठिक ढङगले आफुलाई प्रस्तुत गर्नु देशकै समस्या भएको छ । त्यो समस्यालाई हाम्रो पङ्क्तिले आदर्शको रुपमा देखायो, देशका चर्चित भनेका मान्छेहरु नशामा भेटिन्छन् । चर्चामा बेस्सरी ल्याउन खोजिएको छ त्यस्ता मान्छे पनि नशामा भेटिन्छ ।’
तर, एमाले महाधिवेशनमा खटिएका युवाहरूले अनुशासन, मर्यादा र जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको उनले बताए । ‘हाम्रा युवाहरूमा कुनै पनि प्रकारको दुव्र्यसन देखिएन, यो हाम्रो पङ्क्तिले देखाएको आदर्श हो ।’ ओलीले भने ।
उनले आफ्नो भनाइ मन नपरेर इख मान्दै दुव्र्यसनमा लागेकाहरूले यदि त्यस्तो व्यवहार त्यागेमा आफूलाई अत्यन्त खुसी लाग्ने बताए । युवाहरूको सकारात्मक आचरण र अनुशासनले नै देशको भविष्य सुरक्षित हुने उनको भनाइ थियो ।
अध्यक्ष ओलीले नेपाल बहुलतामा आधारित समाज भएको उल्लेख गर्दै बहुलता र विविधता देशको सामाजिक मात्र नभई भौगोलिक, प्राकृतिक र जैविक यथार्थसमेत भएको बताए । ‘हामी बहुलतामा छौं, बहुलता र विविधता हाम्रो भौगोलिक यथार्थ हो, प्राकृतिक यथार्थ हो र जैविक वनस्पतिको पनि यथार्थ हो ।’ उनले भने ।
उनका अनुसार यही विविधताले नेपाललाई विश्वले ‘इकोसिस्टम’को सबैभन्दा सुन्दर नमुनामध्ये एकका रूपमा चिन्ने आधार दिएको छ । यो केवल सामाजिक पक्षमा मात्र सीमित नभई विभिन्न प्रकारका इकोसिस्टम, सुप्रबन्ध, सुव्यवस्था र विविधताभित्रको एकता नेपालको विशेषता भएको उनले बताए ।
अध्यक्ष ओलीले विविधतामा आधारित यही एकतालाई खलबलाउने प्रयास भए त्यसले देशलाई नकारात्मक असर पार्ने चेतावनीसमेत दिए ।










प्रतिक्रिया