Logo

विश्व

एपस्टिन प्रकरण : अमेरिकी न्याय विभागले १० लाखभन्दा बढी नयाँ दस्तावेज बरामद, समीक्षा पछि सार्वजनिक गरिने



काठमाडौँ । अमेरिकी न्याय विभागले जेफ्री एपस्टिन मुद्दासँग सम्बन्धित १० लाखभन्दा बढी अतिरिक्त दस्तावेज बरामद गरेको छ । विभागले ती दस्तावेज आगामी हप्ताहरूमा चरणबद्ध रूपमा सार्वजनिक गरिने जनाएको छ ।

न्युयोर्कको दक्षिणी जिल्लाका अमेरिकी महान्यायधिवक्ता कार्यालय र संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले एपस्टिन प्रकरणसँग सम्भावित रूपमा सम्बन्धित उक्त परिमाणका दस्तावेज न्याय विभागलाई हस्तान्तरण गरेको हो । ती दस्तावेज एपस्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट, विद्यमान संघीय कानुन र न्यायिक आदेशअनुसार समीक्षा गरी सार्वजनिक गरिने विभागले जनाएको छ ।

न्याय विभागका अनुसार पीडितको पहिचान र सुरक्षाका लागि कानुनी रूपमा आवश्यक संशोधन तथा सम्पादन प्रक्रिया तीव्र रूपमा भइरहेको छ । धेरै फाइल भएकाले सम्पूर्ण प्रक्रिया सम्पन्न हुन केही हप्ता लाग्न सक्ने विभागको भनाइ छ ।

यसअघि मंगलबार न्याय विभागले एपस्टिनसँग सम्बन्धित थप ३० हजार पृष्ठका दस्तावेज सार्वजनिक गरेको थियो । ती दस्तावेजमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध झुटा र आधारहीन दाबी समावेश भएको विभागले जनाएको छ ।

न्याय विभागले एक विज्ञप्तिमा ती दाबीहरू २०२० को अमेरिकी राष्ट्रपति चुनावअगाडि एफबीआईलाई बुझाइएको र तिनमा कुनै तथ्यगत आधार नभएको उल्लेख गरेको छ । यदि ती दाबीहरू सत्य भएको भए पहिल्यै कानुनी कारबाहीमा प्रयोग भइसक्ने विभागको भनाइ छ ।

दस्तावेजमा ट्रम्पले स्थापना गरेको मार–ए–लागो क्लबसँग सम्बन्धित सन् २०२१ मा गरिएको एक सोधपुछ पनि समावेश छ । साथै, सन् १९९५ मा दर्ता गरिएका केही अभिलेख र एपस्टिनकी पूर्वप्रेमिका तथा दोषी ठहर भइसकेकी घिस्लेन म्याक्सवेलको अनुसन्धानसँग सम्बन्धित कागजात पनि रहेका छन् ।

सीएनएनका अनुसार दस्तावेजमा एपस्टिनको नाममा हस्ताक्षर गरिएको एक पत्र पनि समावेश छ, जुन सन् २०१९ मा दोषी यौन अपराधी ल्यारी नासरलाई पठाइएको भनिएको थियो । उक्त पत्रमा ‘हाम्रा राष्ट्रपति’ भन्ने वाक्यांश प्रयोग गरिएको भए पनि ट्रम्पको नाम उल्लेख छैन ।

तर, न्याय विभागका अनुसार एफबीआईले उक्त पत्र नक्कली भएको पुष्टि गरेको छ । पत्रमा प्रयोग गरिएको हस्तलेखन एपस्टिनको वास्तविक हस्तलेखनसँग मेल नखाने र पत्रमा उल्लेखित मिति एपस्टिनको मृत्यु भएको तीन दिनपछिको रहेको पाइएको विभागले जनाएको छ ।

गत महिना अमेरिकी कंग्रेसले एपस्टिन फाइल्स ट्रान्सपरेन्सी एक्ट पारित गरेपछि न्याय विभागले एपस्टिन प्रकरणसँग सम्बन्धित अभिलेखहरू क्रमशः सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  १ : ०१ बजे